प्रधानमन्त्रीको कदमबारे प्रशंसा गर्दै लिङ्देनले भने– अरु काण्डको पनि फाइल खोल्नुहाेस्, साथ दिन्छाैँ

फाइल तस्विर
फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपछि अर्काे गर्दै भ्रष्टाचारका फाइलहरु खोल्न थालेपछि समर्थन जनाएका छन्।

राप्रपानिकट महिला संगठनको एकता महाधिवेशनमा सम्बोधन गर्दै उनले भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्रीको कदम सही रहेको प्रतिक्रिया दिए।

‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन। केही मानिस पक्राउ परेका छन। एकपछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेका छन,’ उनले भने, ‘म सरकारलाई भन्न चाहन्छु यो कारबाही र छानबिनको क्रम जसरी अगाडि बढेको छ। विगतका वाइडबडी काण्ड, ललितानिवास काण्ड, एनसेल काण्डजस्तै सेलाएर जान हुँदैन। देखाउन मात्रै गर्न हुँदैन।’

उनले प्रधानमन्त्रीले यो कदम सुविचारले चालेको भए आफ्नो पार्टी समर्थन गर्ने बताए। त्यसैगरी उनले शरणार्थी काण्ड मात्रै नभएर अन्य कारणहरुको फाइल पनि यसैगरी खोल्न आग्रह गरे।

प्रकाशित मिति: : 2023-05-07 15:06:00

प्रतिकृया दिनुहोस्