नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिराेहसँग साँठगाँठ रहेकाे आराेप लागेका एमाले सचिव एवम् पूर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझी फरार भएका छन्। जिल्ला अदालत काठमाडाैँले बुधबार दिउँसाे उनविरुद्ध पक्राउ पुर्जी जारी गरे पश्चात उनी फरार भएका हुन्।
पक्राउ पुर्जी जारी हुँदा गृह जिल्ला अर्घाखाँचीकाे छत्रदेवस्थित महेन्द्र विद्यावोध माध्यामिक विद्यालयको हिरक महोत्सवमा सहभागी रहेका रायमाझी हिजाे नै काठमाडाैँकाे लागि हिँडेका थिए। यद्यपि, उनी अहिलेसम्म काठमाडाैँ आएका छैनन् भने प्रहरीले पनि सम्पर्क गर्न सकेकाे छैन।
सभामुख देबराज घिमिरेसँगै अर्घाखाँचीमा रहेका रायमाझीले भैरहवा विमानस्थलबाट काठमाडाैँ आउन सँगै टिकट काटे पनि सभामुखलाई यता पठाएर उनी त्यहीँबाट सम्पर्कविहीन भएका छन्।
उनी भैरहवाबाट सम्पर्कविहीन भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ।
यता, उनका छाेरा सन्दीपलाई भने प्रहरीले हिजाे साँझ नै बुटबलबाट पक्राउ गरेकाे थियाे। आज बिहान काठमाडाैँ ल्याइएका उनकाे अहिले बयान जारी छ।
प्रहरीले यस मुद्दामा अहिलेसम्म ९ जनालाई पक्राउ गरेकाे छ। भने, अन्य ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे छ।