चितवन २: विवादले ढिला गरी मतगणनाको तयारी, के भयो सहमति ?

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार (हिजो) भएको उपनिर्वाचनको मतगणना अझै हुन सकेको छैन। आज बिहान ८ बजेदेखि मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयको तयारी थियो।

सर्वदलीय बैठकमा विवाद भएपछि ढिला गरेर दिउँसो १ बजेदेखि मात्र मगगणना गर्ने तयारी छ। सर्वदलीय बैठकमा चर्काचर्कीसमेत भएको थियो। काँग्रेस, एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई कार्वाही गर्नुपर्नेसमेत अडान लिएको थियो।

लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको अन्य पार्टीले उनलाई कार्वाही गरेपछि मात्र मतगणना हुनुपर्ने माग राखेका थिए। यसअघि हिजो (आइतबार) राति बसेको सर्वदलीय बैठकमा पनि विवाद हुँदा उक्त बैठकले मतगणना गर्ने निर्णय गर्न सकेको थिएन।

आज बिहान बसेको बैठकले लामो छलफल गरेपछि विभिन्न निर्णय गरेर मतगणना गर्ने सहमति भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यकाअनुसार बैठकले रवि लामिछानेले आचारसंहित उल्लंघन गरेको उजुरी आयोगमा पठाउने सहमति भएको छ।

यस्तै सामाजिक सञ्जालमा प्रयोग गरिएका अशिष्ट शब्दका विषयमा आवश्यक कारबाही गर्ने, मतगणना क्षेत्र मुख्य निर्वाचन अधिकृतको नियन्त्रणमा राखेर गणना अघि बढाउनेलगायतका निर्णय भएको आचार्यले बिएल नेपाली सेवालाई जानकारी दिए।

प्रकाशित मिति: : 2023-04-24 12:31:00

प्रतिकृया दिनुहोस्