उपनिर्वाचनको मौन अवधि लागू, के–के गर्न पाइँदैन?

चितवन, बारा र तनहुँमा हुन गइरहेकाे उपनिर्वाचनका लागि बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ। स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न बिहीबार राति १२ बजेदेखि मौन अवधि लागू गरिएको निर्वाचन आयोगले जनाएको छ। 

उपनिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेल प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरिएको छ।

जसअनुसार आज राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताएका छन्।

निर्वाचन (कसूर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबूक, भाइबर जस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको आयोगले जनाएको छ।

साथै, निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसार जस्ता कार्य नगर्न/नगराउन आयोगले आग्रह गरेको छ।

प्रकाशित मिति: : 2023-04-21 07:03:00

प्रतिकृया दिनुहोस्