पत्रकारको भेषमा प्रहरी घेराभित्रै ‘डन ब्रदर्श’को हत्या (भिडियाेसहित)

बिएल संवाददाता

नयाँ दिल्ली

उत्तर प्रदेशका पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको प्रयागराजमा प्रहरी घेराभित्रै गाेली हानेर हत्या गरिएकाे छ।

उत्तर प्रदेश प्रहरीले पूर्वसांसद अतीक अहमद र उनका भाइको हत्या भएको पुष्टि गरेको छ।

प्रहरीका अनुसार पत्रकारको भेषमा आएका तीन आक्रमणकारीले पहिले अतिक र त्यसपछि उनीसँगै हिँडिरहेका भाइ अशरफ अहमदलाई गोली हानेर हत्या गरेका थिए। आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ।

उमेश पाल हत्या प्रकरणमा हिरासत जीवन बिताइरहेका अतीक र भाइ अशरफलाई प्रहरीले स्वास्थ्य परीक्षणका अस्पताल लिइरहेकाे थियो।

प्रहरी घेरामा रहेका अतिक र अशरफ चारैतिरबाट घेरिएका थिए। हात हत्कडीले बाँधिएको थियो। पूर्वसांसद अतीक पत्रकारसँग बाेलिरहेका थिए, त्याेबेला पत्रकारकाे भेषमा आएका तीन व्यक्तिले उनीहरूमाथि गाेली बर्साए।

भिडियोमा अतीक प्रहरीसँगै हिँडिरहेको देखिन्छ। एक पत्रकारले अतीकलाई प्रश्न गर्छन्, उनी बोल्न थाल्छन्। अनि क्यामेराभन्दा अगाडि पेस्तोल देखिन्छ। अतीकलाई निकै नजिकबाट गोली हानिएको थियो।

प्रहरी स्राेतका अनुसार उनीहरूलाई सोधपुछका लागि प्रयागराज ल्याइएको थियो।

प्रयागराजको नैनी जेल, देवरिया जेल र बरेली जेलमा डन–सांसद आतीकले राजनीतिको आडमा आतंक मच्चाएका धेरै कथा छन्। एक समय थियो, सन् २०१७ मा नैनी जेलमा अतीकले जेलरलाई थप्पड हानेका थिए।

अतीक अहमद इलाहाबाद पश्चिमबाट लगातार पाँचपटक विधायक र फुलपुरबाट सांसद थिए। उनका छोरा असदलाई शुक्रबार झाँसीमा प्रहरी मुठभेडमा मारिए।

प्रकाशित मिति: : 2023-04-16 06:32:00

प्रतिकृया दिनुहोस्