सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

File Photo
File Photo

पोखरा बहुमुुखी क्याम्पसद्वारा पोखरामा आयोजित क्याम्पस र समुदायबीचको छलफल एवं अन्तक्रियामा सामुदायीक शैक्षिक संस्था समुदायको पहिचान भएकाेमा जोड दिइएको छ।

सामुदायिक शैक्षिक संस्थालाई समुदायको सहयोग अपरिहार्य हुने बताउँदै वक्ताहरूले सामुदायिक संस्थाको महत्व नबुुझ्दा समस्या परेकाे बताएका छन्। टोल संस्था विकास समन्वय समितिका अध्यक्ष उत्तम जोशीले क्याम्पस सञ्चालक समिति, समुदाय, क्याम्पस प्रशासन, शिक्षक र विद्यार्थी सबैको सहभागितामा सामुदायिक शैक्षिक संस्थाले गति लिने गरेकाे बताएका हुन्।

गुणस्तरीय र सङ्ख्यात्मकमा मात्र नभई असल संस्कार प्रदान गर्नेतर्फ सामुदायिक शैक्षिक संस्था लाग्नुपर्ने उल्लेख गर्दै उनले पछिल्लो पुस्ता संस्कारका सिकाइबाट बिमुख हुँदै गएको बताएका छन्।

बाँस्तोलाथर टोल विकास संस्थाका प्रकाश बाँस्तोलाले सामुदायिक क्याम्पसप्रति समुदायको ध्यान तान्न जरुरी रहेको जनाउँदै सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने हो भने सामुदायिक शैक्षिक संस्था अब्बल हुँदै जाने धारणा राखेका हुन्।

जनकल्याण महिला समूहकी अध्यक्ष विमला परियारले छोराछोरीलाई पढ्न पठाएर मात्र अभिभावकको कर्तव्य पूरा नहुने बताउँदै उनीहरूको पढाइको अवस्थासँगै शिक्षकको अध्यापन शैलीबारे चासो दिनुपर्ने आवश्यकता औँल्याकी छन्।

नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले शैक्षिक संस्था र समुदायबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने जनाउँदै सामुदायिक संस्थालाई समुदायको स्वामित्व चाहिनेमा जोड दिएका हुन्। पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले समुदायको सद्भावमा मात्र सामुदायिक सम्पत्तिको जगेर्ना हुने बताएका छन्। 

कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष बद्री श्रेष्ठ, क्याम्पस प्रमुख शिशुकला पराजुलीलगायतले सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएको भन्दै यसको समग्र विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

समुदायकै सहयोगमा विसं २०४४ मा स्थापित क्याम्पस हाल पोखरा महानगरपालिका वडा नं ९ शान्तिवन बाटिकामा सञ्चालन भई चारवर्षे स्नातक तहमा बिए र बिबिएस तहको अध्यापन भइरहेको छ।

प्रकाशित मिति: : 2023-04-02 08:18:00

प्रतिकृया दिनुहोस्