सल्यानबाट ‘प्रकाश’ छरेका प्रकाश ज्वाला भौतिक पूर्वाधारमन्त्री !

सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन्। 

एकीकृत समाजवादी पार्टीको तर्फबाट ज्वाला भौतिक पूर्वाधारमन्त्री बनेका हुन्। ज्वाला गएको मंसिर ४ गते भएको आमनिर्वाचनमा सल्यानबाट ३५ हजार ७ सय मत प्राप्त गरेर निर्वाचित भएका थिए।

२०२३ मंसिर १२ गते सल्यानको देवस्थलमा जन्मिएका ज्वालाकाे राजनीतिक यात्रा निकै सङ्घर्षशील छ। पञ्चायत विरोधी संघर्षमा सम्मिलित भएको आरोपमा तीन वर्ष जेल जीवन बिताएका उनी २०७४ मा सल्यान प्रदेशसभा (ख) बाट प्रदेशसभा चुनाव जितेर प्रदेश सरकारको अर्थमन्त्रीको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन्।

२०५१ को आमनिर्वाचनमा नेकपा एमाले सल्यान क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका ज्वाला ०५६ को आम निर्वाचनाट तत्कालीन एमालेका तर्फबाट सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यस्तै, ज्वालाले २०७० सालमा समेत चुनाव जिते। २०६२–०६३ को आन्दोलनमा सक्रिय भूमिका खेलेका उनी अनेरास्ववियुको तल्लाे कमिटीदेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी लिएर लामो समय विद्यार्थी राजनीतिमा सक्रिय भएर लागे।

राजनीतिक यात्राकै क्रममा प्रकाशबहादुर बुढाथोकीबाट ‘प्रकाश ज्वाला’ का रूपमा उनको परिचय बन्याे। दश वर्ष एमाले जिल्ला कमिटी सल्यानको सचिव बनेका उनले सल्यानमा प्रभावशाली नेताको छवि बनाएका छन्। शान्ति प्रक्रियापछि अन्तरिम व्यवस्थापिका संसद्को सदस्य भई प्रभावकारी भूमिका निभाएका उनले प्रतिनिधिसभा राज्य व्यवस्था तथा प्राकृतिक स्रोत–साधन समितिको सभापति भएर तत्कालीन राजा र दरबारको जग्गा–जमिनलगायत सम्पत्ति छानबिनमा काम गरेर निकै लोकप्रियता कमाएका थिए।

ज्वालाले एमाले पोलिटव्यूरो सदस्य, केन्द्रीय संगठन विभागका सदस्यसँगै राप्ती अञ्चल समन्वय कमिटी संयोजक भएर तत्कालीन पार्टी नेतृत्वमा योगदान दिए। ज्वालाको परिचय लेखकका रूपमा पनि परिचित छ। उनका प्रतिनिधि सभामा प्रकाश ज्वाला, एक्काइसौँ शताब्दी समाजवादको शताब्दी, वैचारिक विचलनको भूमरीमा माओवादी आन्दोलन लगायतका कृषिहरू प्रकाशित छन्।

राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका उनी तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको प्रमुख राजनीतिक सल्लाहकार (२०६७–२०६८) भएर समेत काम गरेका थिए। २०७४ मा एमालेबाट प्रदेशसभा (ख) मा निर्वाचित उनले कर्णाली प्रदेशको पहिलो अर्थमन्त्री भएर महत्वपूर्ण भूमिका निर्वाह गरे। नेकपाभित्रको अन्तरसंघर्षका क्रममा उनले माधवकुमार नेपाल खेमाको नेतृत्व गर्दै ओली पक्षधरको विरुद्धमा विद्रोह गरेभने उनीसहित चारजना तत्कालीन एमाले सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी नेता महेन्द्रबहादुर शाहीको सत्ता जोगिएको थियो।

ज्वालाको उक्त विद्रोहको बिउ भनेको अहिलेको सत्ता गठबन्धन हो। उनको विद्रोहले कर्णालीमा गठबन्धनको आधार तयार भएको थियो। विद्रोहको नेतृत्व गरेका ज्वालासहित चार जनालाई एमालेले निष्कासन गर्यो। त्यसपछि नेकपा हुँदै एमाले विभाजन भयो। माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीको उपमहासचिव एवं प्रदेश इन्चार्जको जिम्मेवारी पाएका उनले नेता नेपाललाई कठिन परिस्थितिमा साथ दिँदै आएका थिए।

सल्यानबाट प्रतिनिधिसभामा निर्वाचित भएपछि ज्वालाले सल्यानी जनताको हितमा काम गर्ने थियो। उनले राप्ती राजमार्गसँगै शिक्षा, स्वास्थ्य, कृषि, खोनपानी, बिद्युत्त र पर्यटनका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका हुन्। ज्वालाले जनता र जनजिविकाका सवालमा सडकदेखि सदनसम्मै आवाज उठाउँदै आएका छन्। नवनियुक्त मन्त्री ज्वालासँग सल्यान र सल्यानी जनताले धेरै आसा र अपेक्षा गरेका छन्।

प्रकाशित मिति: : 2023-03-31 16:35:00

प्रतिकृया दिनुहोस्