प्रकृती मृत्यु प्रकरण- पक्राउ परे आरोपी, नेपाली विद्यार्थीको निलम्बन फुकुवा

Break n Links
Break n Links

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्राको मृत्यु प्रकरणको छानबिन माग गर्दा कुटपिट गर्दै कलेजबाट निकालिएका नेपाली विद्यार्थीहरूको निलम्बन फुकुवा भएको छ।

केआईआईटीले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीमाथि लगाइएको अस्थायी निलम्बन फुकुवा गर्ने घोषणा गरेको हो।

विश्वविद्यालयले विज्ञप्तिमार्फत भनेको छ, ‘विद्यार्थीहरूलाई क्याम्पसमा फर्किन प्रोत्साहन गरिन्छ। यस अवधिमा उनीहरूको शैक्षिक गतिबिधिलाई बाधा पुर्‍याइने छैन र विश्वविद्यालयले उनीहरूको हेरविचार गर्नेछ। शान्ति कायम राख्न र पीडितलाई उचित न्याय सुनिश्चित गर्ने यो कदम चालिएको थियो।’

नेपाली छात्राको आत्महत्या शंकास्पद रहेको भन्दै नेपाली विद्यार्थीहरूले छानबिनको माग गरेपछि करिब २०० नेपाली विद्यार्थीहरूलाई कुटपिट गर्दै होस्टलबाट निकालिएको थियो।

केआईआईटी विश्वविद्यालयमा बीटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी २० वर्षीया प्रकृति लम्सालको आत्महत्या शंकास्पद रहेको त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले दाबी गरेका छन्।

मृतक प्रकृतिलाई सोही विश्वविद्यालयमा अध्ययनरत एक छात्राले बारम्बार मानसिक तनाव दिइरहेको खुलेको छ। उनका पूर्वप्रेमी अद्विक श्रीवास्तवले बारम्बार मानसिक तनाव दिएपछि गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)मा प्रकृतिले उजुरी पनि दिएको उनका साथीहरूले जनाएका छन्।

प्रशासनले ती छात्रलाई कारबाहीको सट्टा नेपाली विद्यार्थीहरूमाथि विभिन्न आरोप लगाउँदै कलेज छाड्न दवाब दिएको उनीहरूको आरोप छ।

प्रकृतिको मृत्युको घटनालाई विश्वविद्यालयले दुर्भाग्यपूर्ण र अप्रत्याशित भनेको छ। प्रहरीले यस प्रकरणमा अनुसन्धान गरिरहेको र पीडक दाबी गरिएको केटालाई प्रहरीले तुरुन्तै विमानस्थलमा पक्राउ गरी हिरासतमा लिएको पनि जनाएको छ।

नेपाली विद्यार्थीहरू विश्वविद्यालयका अधिकारीहरूको कुरासमेत नसुनी आन्दोलनमा उत्रिएका र सडकसमेत बन्द गरेपछि स्थिति नियन्त्रणमा लिन यस्तो कदम चाल्नुपरेको उसको दाबी छ।

प्रकाशित मिति: : 2025-02-17 19:11:00

प्रतिकृया दिनुहोस्