दुई महिनापछि मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीविहीन मन्त्रालयमा दुई महिनापछि मन्त्री नियुक्त गर्दै छन्। तर, अझै पनि तीन मन्त्रालयले भने मन्त्री पाउने छैन।

बुधबार बसेको गठबन्धन दलहरुको बैठकले कुन दलले कति मन्त्रालय पाउने भन्ने सहमति भएपछि बिहीबार (आज) सम्भवतः मन्त्री नियुक्त गर्ने तयारीमा प्रचण्ड छन्। सहमतिअनुसार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित ५, नेपाली काँग्रेसले ८, एकीकृत समाजवादीले २, जसपाले २, लोसपाले १, नागरिक उन्मुक्तिले १, आमजनता पार्टीले १, जनमतले राज्यमन्त्रीसहित १ मन्त्रालय र नेपाल समाजवादी पार्टीले १ मन्त्रालय पाउने छन्।

गएको पुस १० गते पाँच दलीय गठबन्धनको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुँदा प्रचण्डले एक महिनासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका थिएनन्। उनले दुई (खेलकुद र वन)मन्त्रालय आफैंसँग राखेका थिए।

दुई मन्त्रालय आफैंसँग राखेका प्रचण्डलाई २० माघमा गृहमन्त्रालय नपाएको झोकमा रास्वपाले सरकार छाडेपछि मन्त्रालयको भार पर्दै गएको थियो। रास्वपाले एक राज्यमन्त्रीसहित तीन मन्त्रीालय पाएको थियो।

त्यसपछि सतहमा आएको पाँच दलीय गठबन्धनको खटपट १३ माघमा टुटफुटमा पुग्यो। राष्ट्रपतिमा माओवादीले काँग्रेसलाई सघाएसँगै तीन मन्त्रालय पाएको राप्रपाले १३ माघमा सरकार छाड्यो। त्यही झोंकमा ८ मन्त्रालय पाएको एमालेले १५ माघमा सरकार छाडेपछि प्रचण्डलाई १६ मन्त्रालयको भार परेको थियो।

एक महिनादेखि १६ मन्त्रालयको भार बोकेका प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार गर्न नसकेको भन्दै चर्को चालोचना भइरहेको छ। एमालेसहितको गठबन्धनबाट काँग्रेसहितको गठबन्धनमा उभिएपछि पहिलो पटक प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै छन्।

तर, अझै पनि दलहरुले कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने सांसदहरुको नाम भने दिन सकेका छैनन्। जसले गर्दा बिहीबार पनि मन्त्रिपरिषद् विस्तार नहुने हो कि भन्ने शंका भने बाँकी नै छ।

सत्तागठबन्धनमा रहेका ११ मध्ये तत्काल नौ दल सरकारमा सहभागी हुँदैछन्। रास्वपालाई पनि सरकारमा सहभागी गराउने गरी ३ मन्त्रालय अझै पनि प्रचण्डले आफैंसँग राखेका छन्।

हाल माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ भौतिक तथा पूर्वाधार मन्त्री, रेखा शर्मा संचार मन्त्री, सुदन किराँती पर्यटनमन्त्री, अमनलाल मोदी सामान्य प्रशासन मन्त्री र जनमत पार्टीबाट खानेपानी मन्त्रीमा अब्दुल खांन रहेका छन्।

यी मध्ये उपप्रधानमन्त्रीसहित भौतिक तथा पूर्वाधार मन्त्री श्रेष्ठ गृहमन्त्री बन्दैछन्। अर्थ मन्त्रालय काँग्रेसले पाउने लगभग पक्का भएको छ। र, अन्य कुन मन्त्रालय कसले पाउने भन्ने टुंगो भने लागेको छैन।

प्रकाशित मिति: : 2023-03-30 08:57:00

प्रतिकृया दिनुहोस्