गोप्थड विरहकाे विम्ब

BreaknLinks
BreaknLinks

बाटती पिपलु,
पानीको धारो
हुँईमाथि बडैको(वर) रुख
मुड र ढवठी लोगैले देख्छ,
को देख्छ मुनको दुःख ?

ब्यागग्राउण्डमा विरहकाे भाका बजिरहेकाे छ। धनकाला डाँगी बह पाेख्दैछिन्। कलकल बगिरहेकाे तिलाजस्तै उनकाे सवर बगिरहेकाे छ।

कर्णाली राजमार्गबाट १० मिनेट जति मुटु फुट्ने उकालो हिँड्यो भने रुखमुल भेटिन्छ। रुखो डाँडामा सितिमिति पानीको मुल पाउन मुस्किल हुन्छ। तर, रुखमुलमा पानी छ्यालब्याल छ।

रुखमुलको पानीको मुहानसँग एउटा ऐतिहासिक कहावत जोडिएको छ।

जुम्लामा औपचारिक रुपमा धान खेतीको सुरुवात गर्ने र त्यसकाे विस्तार गर्ने लछालकृति पैकेलो लाछु जिउलाको पहिलो खेत गुरु फोक्टो बनाउँदै थिए। त्यही बेला सिंजापति राजाका सिपाहीहरु आएर ‘पैकेलाको दरबार कता हो ?’ भनि सोधे। पैकेलाले आफ्नो दरबार रहेको ठाउँ थाप्लातिर जाने लामो बाटो सिकाए।

सिपाही भन्दा अगाडि उनी आफ्नो दरबार जानलाई छोटो बाटो अपनाए। खेत बनाएर हिलाम्मे बनेका पैकेलाले छोटो दूरीको बाटो हिँड्नेबेला सरसफाइ गर्न खोज्दा बाटोभरि कतै पनि पानी भेटाएनन्।

औतारी पैकेलाले अहिलेको रुखमुलनेर आफ्नो हातको बुढी औंला जमिनमा कोचे। त्यहाँबाट थाेरै पानी आयो। त्यही पानीले हात खुट्टा धुन खोज्दा पुगेन। उनले खुट्टाको घुँडो जमिनमा कोचे र पानी छ्यालब्याल भयो।

आज पनि पानीको मुहानलाई लिएर विवाद उत्पन्न भएको खण्डमा ‘तोइले घुँडो कोची ल्याया पानी हो ?’ भनी प्रश्न गर्ने गरिन्छ।

खासगरी पानीको मुहान नभेटिने रुखा डाँडामा पानीको मुहान निस्कनुलाई हालसम्म पैकेलाको कहावतले काम गरेको छ। तिर्खाएको सिंगो गोप्थडा गाउँको गलो भिजाउने काम रुखमुलले गर्नुको जस पैकेलाले पाइरहेका छन्।

गोप्थडबासीले चार वर्ष अघिसम्म पाँच मिनेटको दूरीमा रहेको रुखमुलबाटै पानी भरेर खाइरहेका थिए। गाउँभन्दा मुहान होँचो ठाउँमा रहेको हुनाले उनीहरुका घरघरसम्म धारो पुगाउने मेसो मिलेको थिएन।

चार वर्ष अगाडि प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले आफ्नो संसद विकास कोषबाट बजेट हालिदिएपछि सोलारबाट उकालोमा पानी तान्ने प्रविधि अपनाई गाउँमै धारा लागेर गाग्री भर्न मिलिरहेको छ। बादल लागेको दिन र राती पानी खानुपरेको खण्डमा गाउँलेहरु अहिले पनि मुलमै पुगेर भर्ने गरिरहेका छन्।

सिंगो गाउँले पानी बोक्ने दुःखबाट छुटकारा पाए पनि गोप्थडका तमाम दुःख बाँकी नै छन्। त्यसैले धनकला डाँगी को देख्छ मुनैको दुःख भनेर चुट्किलामा विरह बगाइरहेकी छिन्।

जम्मा २२ घरधुरी भएको गोप्थडामा हिउँद पारिलो घाम लाग्छ। ओछ्यानमै घाम आएर उठाउँछ र भन्छ, ‘अब काम गर्न जाउ, नत्र तिम्रा मुखमा माड पस्दैन।’ त्यो घामले खेतबारीमा कामका निम्ति मात्रै पठाउँदैन हरेक वर्ष लाछु जिउलाको छेउबाट बगेको तिला नदीझैं भारतका गल्ली गल्छेडासम्म पनि बगाउँछ।

‘अघिल्लो सालको बाढीले धान पनि काम लागेनन्। अहिलेकाे साल हिउँद हिउँ कम परेको हुनाले जौं, गहुँ गतिला हुने छैनन्,’ ४८ वर्षकी विष्णु कठायतले भनिन्, ‘दुई बोरी सिमी हुने गडाबाट एक बोरी सिमी मात्रै भया। दुखारीका दुःख कहिले जाँदैनन्।’

उनको स्वरसँग जोड्दै स्थानीय हस्त डाँगीले भने, ‘अब त इन्डिया जानूबाहेक अर्काे विकल्प नाई।’

गाउँमा डाँगी, रावल, कठायतलगायत पाखाका क्षेत्रीहरुको बसोबास छ। उनीहरु लगभग आफ्नो सबै काम आफैं गर्छन्। सिलाउने, कटाउने, भाँडा बनाउने कामकाे लागि लिताकोट जान्छन्। पहिला मानो/पाथी ज्याला दिनुपर्ने ठाउँमा अब विनिमयको माध्यम मुद्रा बनेको छ। रोजगारीका अरु बाटा नभएपछि इन्डिया जानुको विकल्प नभएको डाँगीले गुनासाे पाखे।

३८ वर्षका स्थानीय बखत डाँगीकाअनुसार पिछडिएको गाउँमा विकास, निकास र राेजगारी केही छैन। खेतीपाती, इन्डियाका पल्लादारी गाउँलेका मुख्य काम हुन।

तीन कक्षासम्म पढाइ हुने पैकेलो प्रा.वि.मा दुई जना बाहिरका मास्टर छन्। त्यो स्कुल स्थापनाका लागि भने मनकारी एकजनाले जग्गा दान दिएपछि उनलाई कार्यालय सहयोगी राखिएको छ। त्यसबाहेक अर्काे नियमित तलब बुझ्ने सरकारी कर्मचारी गाेप्थडाले अहिलेसम्म पाएकाे छैन।

खानपान, औषधि उपचार, शिक्षा आदि कुराको पहुँचबाट विमुख भएर होला गाउँको औषत आयु पनि निकै कम छ। धेरैजस्तो मानिस ६० वर्ष भन्दा कम उमेरका मात्रै छन्। नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) थाप्ने जम्मा दुई जना पुरुष र दुई जना महिला मात्रै छन्।

गाउँमा अझै पनि पञ्चाङ्ग निर्णायक समितिले निकाल्ने पात्रो नहेरेर उज्यालो हुने बेला, फलानो जन्मेको साल, राजा आएको साल, जंगलमा आगो लागेको दिन, अनिकाल परेको साल, घाम लागेको बेला, घाम बुड्न लागेको बेला, घाँस दाउरा गर्न गएको बेला, रोप्ने बेलालाई आफ्नो जन्मदिन मान्ने चलन कायमै छ। त्यसैले आफ्नो उमेरको हिसाब गर्न नसक्ने धनसरी खड्का ‘५० बढी भया हुँला’ भनेर अनुमान गर्छिन्।

‘घरखेतको काम महिलाले बढी गर्छाैं। पुरुष हल्का हल्का गर्छन्,’ उनले भनिन्, ‘इन्डिया गइकन कमाइ ल्याउने हुनाले उनीहरुको मान बढी छ। हामी दुःख परेका बेला माइत जान पनि पाउँदैनौं।’

सायद यसैकारण हाेला धनकला डाँगी विरहको बिम्बमार्फत् असन्तुष्ट पोख्दै अनुरोध गर्छिन् माइत जान देउ भनेर।

पिँला पैतेला रेल, माला जान्या सन्तलीका।
जान देउ मैतेला, बोब सम्राई(सौराई) लागिगयो।
जान देउ मैतेला, बजु सम्राई लागिगयो।
जान देउ मैतेला, बाबा सम्राई लागिगयो।
जान देउ मैतेला, आमा सम्राई लागिगयो।

गाउँ सानो भएको हुनाले वडा जर्मी, बाबिरा, डाँगीबाडा र सुनार गाउँसँग जोडिएको छ। वडाबाट खासै विकास निकास हुँदैन। सानो गाउँ भएको हुनाले वडामा गाउँका प्रतिनिधित्व पनि छैन। वडाध्यक्ष प्राय: जसाे जर्मीका हुन्छन्।

हिउँदको समयमा युवाहरु कमाउन जिल्ला बाहिर गएपछि गाउँमा वृद्धहरु मात्रै हुन्छन्। उनीहरु राडीपाखी बुन्ने, गोरु बाछा गर्नेलगायत काम गरेर दिन कटाउँछन्। त्यसका अतिरिक्त उनीहरुले मान्ने सुनारगाउँ मष्टो, माहादेउ, पैकेलो पुज्ने, साँझ घरमा देउता बसाल्नेसम्मका काम गर्छन्।

प्रकाशित मिति: : 2023-03-25 21:30:00

प्रतिकृया दिनुहोस्