कुन प्रदेशको जनसंख्या कति? यस्तो छ महिला पुरुषको संख्या  

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ। यो जनसंख्या २०६८ को जनसंख्या भन्दा २६ लाख ७० हजार ७४ जना बढी हो। २०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो। 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या धेरै रहेको छ। पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ। 

जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ।

कुन प्रदेशको जनसंख्या कति?

राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशको रहेको छ। बागमती प्रदेशको जनसख्ंया ६१ लाख १६ हजार ८६६ रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको प्रतिवेदनमा उल्लेख छ। जसमा महिलाको जनसंख्या ३० लाख ६८ हजार १८२ र पुरुषको जनसंख्या ३० लाख ४८ हजार ६८४ रहेको छ।  

सबैभन्दा कम कर्णाली प्रदेशको जनसंख्या १६ लाख ८८ हजार ४१२ रहेको छ। जसमध्ये महिलाको जनसंख्या ४ लाख ६४ हजार ६५१ र पुरुषको जनसंख्या ८ लाख २३ हजार ७६१ रहेको छ। 

कोशी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४१२ रहँदा महिलाको जनसंख्या २५ लाख ४४ हजार ८४ र पुरुषको जनसंख्या २४ लाख १७ हजार ३२८ रहेको छ। मधेर प्रदेशको जनसंख्या ६१ लाख १४ हजार ६ सय रहँदा महिलाको जनसंख्या ३० लाख ४८ हजार ८४९ र पुरुषको जनसंख्या ३० लाख ६५ हजार ७५१ रहेको छ। 

यस्तै गण्डकी प्रदेशको जनसंख्या २४ लाख ६६ हजार ४२७ रहेको छ भने जसमा महिलाको संख्या १२ लाख ९५ हजार ५९४ र पुरुषको संख्या ११ लाख ७० हजार ८३३ रहेको छ। लुम्बिनी प्रदेशको जनसंख्या ५१ लाख २२ हजार ७८ रहेको छ। जसमा महिलाको जनसंख्या २६ लाख ६७ हजार ६७० र पुरुषको जनसंख्या २४ लाख ५४ हजार ४०८ रहेको छ। 

सुदुरपश्चिम प्रदेशको जनसंख्या २६ लाख ९४ हजार ७८३ रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। यस प्रदेशमा महिलाको जनसंख्या १४ लाख २१ हजार ९९७ र पुरुषको जनसंख्या १२ लाख ७२ हजार ७८६ रहेको छ। 

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत् २५ कात्तिकदेखि ९ मंसिर ०७८ सालको जनगणना संकलन गरेको थियो। त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो। अन्तिम नतिजा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेका थिए।
 

प्रकाशित मिति: : 2023-03-24 14:47:00

प्रतिकृया दिनुहोस्