महानगरले काठमाडौँ प्लाजा भाडामा लियो, अब एकै ठाउँबाट सेवा दिने

काठमाडौँ महानगरपालिकाले काठमाडौं प्लाजा भाडामा लिने भएकाे छ। महानगरपालिकाले प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग बुधबार सम्झौता गरेको हाे।

महानगरपालिकाले नेपाल ट्रष्टसँग १० वर्षका लागि यो सम्झौता गरेकाे काठमाडाैँ महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकरीले जानकारी दिए। सम्झाैतामा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले हस्ताक्षर गरेका छन्।

सम्झाैतामा पाँच वर्षमा १० प्रतिशतका दरले भाडा वृद्ध गर्ने सहमति भएकाे छ।

याे सँगै अब काठमाडाैँ महानगरले एउटै ठाउँबाट सेवा दिने कार्यकाे थालनी गर्नेछ। हाल महानगरले छुट्टाछुट्टै स्थानबाट कार्यालयहरु सञ्चालन गर्दै आएकाे थियाे।

२०७२ को भूकम्पअघि महानगर बागदरबारमा थियो। भूकम्पको कम्पनले भवन जीर्ण भएर कार्यालय सञ्चालनका लागि कमजोर भएपछि केही समय राष्ट्रिय सभा गृहबाट सेवा सञ्चालन गरिएकाे थियाे। त्यसपछि सुन्धारामा रहेको जेडिए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ। साे स्थानमा पनि सबै विभाग नअट्टाएपछि विभागहरुलाई फरक-फरक ठाउँमा राखिएका छन्।

अहिले प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय जेडिए कम्प्लेक्समा छन्। साेही कम्प्लेक्समा वित्त, प्रशासन, कानुन तथा मानव अधिकार, आन्तरिक लेखा परीक्षण एकाई, खरिद एकाइ रहेका छन्।

साविक बागदरबारमा महानगर प्रहरी बल, इजलास, कानुनसम्बन्धी सेवाहरु, ट्राफिक व्यवस्थापन विज्ञको कार्यकक्ष, योजना अनुगमन तथा मूल्याङ्कन एकाइ छन्।

टेकुमा उद्यान तथा हरियाली प्रवर्धन आयोजना, वातावरण व्यवस्थापन विभाग र जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन्। कृषि तथा पशुपंक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छ। राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन्।

सहकारी विभाग विजुली बजारमा छ। सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ।

जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा स्वास्थ्य, सम्पदा तथा पर्यटन, विपद व्यवस्थापन, सामाजिक विकास विभाग, सार्वजनिक निजी साझेदारी एकाई लगायत कार्यालय छन्।

हनुमान ढोका दरबार संरक्षण कार्यालय बसन्तपुरमा छ। राष्ट्रिय सभा गृह परिसरमा सूचना प्रविधि विभाग र जिन्सी शाखा लगायत संरचना छन्।

यसरी छरिएर रहेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न महानगरले प्लाजा भाडामा लिएको हो।

प्रकाशित मिति: : 2023-03-23 10:52:00

प्रतिकृया दिनुहोस्