दूधको मूल्य किन ह्वात्तै बढ्यो ?

उमेश थापा

काठमाडौं

सरकारले गत फागुन ११ गतेदेखि लागु हुने गरी दूधमा प्रतिलिटर ९ रुपैयाँ मूल्य वृद्धि गर्‍याे। दूधकाे न्यूनतम मूल्य ५६ रुपैयाँ ४० पैसाबाट वृद्धि भएर एकैपटक ६५ रुपैयाँ पुगेकाे छ। सरकारले अघिल्लाे वर्षकाे माघ १७ गते दूधकाे मूल्यमा १६ रुपैयाँ वृद्धि गरेकाे थियाे।

सरकारद्वारा २०७४ सालमा तर्जुमा गरिएकाे नीति बमोजिम दूधको मूल्य प्रत्येक दुई वर्षमा मात्र समायोजना गरिनुपर्छ। तर, सरकारले एक वर्ष नबित्दै दूधकाे मूल्य ९ रुपैयाँले बढायाे। यसरी एक वर्षको अन्तरालमा दूधको मूल्य लिटरमा १४ रुपैयाँ बढेका देखिन्छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी प्रदीप भट्टराई लागत मूल्य बढेका कारण दूधकाे मूल्य पनि स्वत: बढेकाे बताउँछन्। ‘गाई/भैंसीलाई खुवाउने दाना, मकै, धान, पिठो सबै मूल्यवृद्धि भएकोले र किसानहरुलाई मार नपरोस् भनेर दूधको मुल्यवृद्धि गरिएको हो,’ उनले भने।

वि.सं. २०७४ मा बनाइएकाे नीतिअनुसार दूधकाे मूल्य प्रत्येक दुई वर्षमा बढाउनुपर्ने व्यवस्था भए पनि गत वर्षका तुलनामा यसवर्ष महंगी अत्याधिक बढेकाेले दूधकाे मूल्यमा वृद्धि गरिएकाे उनले स्वीकारे। यसबीचमा लागत मूल्य वृद्धि नभएकाे भए दूधकाे मूल्य नबढेकाे हुने उनले दाबी गरे।

नेपाल दूग्धजन्य पदार्थमा आत्मनिर्भर भएकाले यसको आयातमा रोक लगाइएको छ। तर, पछिल्लो समय उचित मूल्य अभावका कारण अधिकांश किसान विस्थापित भएकाले दूध उत्पादनमा गिरावट आउँदै गइरहेकाे छ। यस्ताे अवस्थमा किसानका समस्यालाई मध्यनजर गर्दै र यस क्षेत्रमा विस्थापित हुनबाट राेक्न पनि मूल्यवृद्धि आवश्यक रहेकाे भट्टराई तर्क गर्छन्।

यता दूधको मूल्य अचानक बढेपछि उपभोक्ताहरु आक्राेशित बनेका छन्। दूधकाे मूल्य वर्ष दिन पनि नबित्दै बढाउँदा आफूहरू मारमा परेकाे उनीहरुकाे भनाइ छ। सरकारले किसानकाे नाम बेचेर दूधकाे भाउ बढाएर विचाैलिया पाेस्ने काम भएकाे उपभाेक्ताकाे आराेप छ।

‘किसानले परिश्रमअनुसारकाे मूल्य त पाउनै पर्छ तर सरकारकाे इमान्दार देखिँदैन। यता किसानकाे नाम लिएर मूल्य बढाउने, उता विचाैलिया पाेस्ने काम सरकारबाटै हुन सक्छ। त्यसैले जनतालाई मार पर्ने गरी मूल्यवृद्धि गर्नुभन्दा पनि किसानलाई राहत हुने गरी स्किमहरु ल्याउनुपर्छ। जनतालाई पनि मार्नु भएन, किसान पनि मर्नुभएन,’ काठमाडाैँका अनामनगरका हिमाल महर्जनले भने। वास्तविक किसानले उचित मूल्य पाउनेमा उनी आशंका व्यक्त गर्छन।

त्यस्तै उपभाेक्ता राम नेपाल पनि सरकारले मूल्य वृद्धि गरेर थिति बिगारकाे टिप्पणी गर्छन्। ‘दूधेबालकदेखि वृद्धलाई दिनहुँ दूध आवश्यक छ तर दुई वर्षमा बढाइने भनिएकाे नीति नै सरकारले उल्लंघन गरेकाे छ। यसरी मूल्यवृद्धि गरिराख्दा निकै अप्ठ्याराे परेको छ। दुधको मूल्य बढ्ने बित्तिकै अन्य दूग्धजन्य पदार्थको मूल्य बढ्ने भएकाले सरकार मूल्य फिर्ता लिनुपर्छ,’ नेपालले बिएल नेपाली सेवासँग भने।

यता अधिवक्ता विष्णुप्रसाद तिमिल्सिना पनि दूधकाे मूल्य ह्वात्तै बढाउन नहुने बताउँछन्। ‘मानिसहरुको दैनिकी दूधबाट सुरु हुन्छ, त्यसैले मानिसहरुलाई प्रत्यक्ष असर पर्ने गरी दूधकाे मूल्य बढाउनु उचित हैन,’ उनले भने। याे मूल्यवृद्धि किसानकाे लागि नभएकाे भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिनुपर्ने उनी बताउँछन्। अहिले मूल्यवृद्धिबाट विचाैलियाले प्रतिलिटर २० देखि ३० रुपैयाँसम्म अशुल्ने गरेकाे उनी दाबी गर्छन्।

भक्तपुरमा लामाे समयदेखि गाईपालन गर्दै आएका शशी कार्की भने सरकारले मूल्य वृद्धि गर्नु सकारात्मक रहेकाे बताउँछन्। ‘मूल्यवृद्धि भएकोमा हामी किसानलाई अलि राहत भएको जस्तो लाग्छ। तर, गाई/वस्तुलाई खुवाउने दाना, मकै, पिठो, सबैको मूल्य पनि त बढेको छ नि,’ उनले भने,‘२३ वटा गाई भैंँसीबाट महिना २ लाख ३० हजारसम्मको दूध बिक्री गर्छु तर पनि लगानी उठाउन गाह्राे छ।’ अहिले बढेको मूल्यले थोरै भएपनि राहत महसुस भएकाे उनी बताउँछन्।

प्रकाशित मिति: : 2023-03-20 21:50:00

प्रतिकृया दिनुहोस्