राष्ट्रपति निर्वाचन : किन खुलेनन् राप्रपा र रास्वपा ?

राप्रपा चुनावमा सहभागी हुने/नहुने कुरामै अन्याैल, रास्वपा राष्ट्रपतिमा सत्ता पक्षलाई सघाएर सरकारमा जाने मेसाे खाेज्दै

नयाँ राष्ट्रपति चयनको लागि भोलि (बिहीबार) निर्वाचन हुँदैछ। नेपालको तेस्रो राष्ट्रपति बन्न आठ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)बाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पार्धामा छन्।

निर्वाचनको लागि अधिकांश दलले पक्षधरता देखाए पनि प्रतिनिधिसभाको चौंथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौँ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिलेसम्म खुलेका छैनन्। त्यस्तै संसदमा एकसिट रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे स्पष्ट पारेको छैन।

त्यसैगरी प्रदेश सभाका हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले पनि आफ्नो ‘लाइन क्लियर’ गरेका छैनन्।

राष्ट्रपति निर्वाचनबारे निर्णय गर्नका लागि राप्रपाले आज दिउँसो १ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ। उसले सो बैठकबाट कसलाई समर्थन गर्ने भन्नेबारे आन्तरिक निर्णय गर्नेछ।

एमलेनिकट रहेको मानिएको राप्रपाले नेम्वाङलाई समर्थन गर्ने अनुमान गरिएको छ। प्रचण्ड नेतृत्वको सरकारमा सहभागी राप्रपा काँग्रेससहितको गठबन्धन ब्युँतिएपछि समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो।

‘अब त आचारसंहिता लागु भइसक्यो, कसलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे बोल्नै मिलेन। हाम्रो आज संसदीय दलको बैठक बस्दैछ। त्यही बैठकमा अन्तरिक सल्लाह हुन्छ। हामीले राष्ट्रपतिको लागि भोट हाल्ने वा नहाल्ने भन्ने नै निश्चित छैन,’ राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बिएल नेपाली सेवासँग भने।

त्यस्तै रास्वपाले पनि यसबारे निर्णय गर्न भोलि बिहान संसदीय दलको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री पद नपाएपछि सरकारबाट बाहिरिएको रास्वपाले आफ्नो राजनीतिक लाइन नै क्लियर गर्न सकेको छैन। त्यसैले उसले कुन उम्मेदवारलाई समर्थन गर्छ भन्ने अनुमान गर्न कठिन छ।

‘पार्टीको सांगठनिक काममा व्यस्त भएर बैठक बस्न सकिरहेको थिएन, त्यसैले राष्ट्रपतिबारे पहिले निर्णय गर्न सकेनौँ। भोलि संसदीय दलको बैठक बस्छ, बैठकबाटै कसलाई समर्थन गर्ने भन्नेबारे आन्तरिक निर्णय हुन्छ,’ रास्वपका सांसद सन्तोष परियारले बिएल नेपाली सेवासँग भने।

‘प्रधानमन्त्री र नेपाली काँग्रेसले हामीलाई सरकारमा सहभागी हुन प्रस्ताव पनि राखेको छ। तर, सरकार नै अलि अनकन्ट्रोल जस्तो देखिएकोले हामीले झट्टै निर्णय लिन सकेका छैनौँ। हेरौँ भोलि बिहानसम्म के हुन्छ, पार्टीका साथीहरुको कस्तो कुरा आउँछ,’ उनले थपे।

परियारले सरकार आफ्नो पार्टीले राखेका विषय सहमत भएमा राष्ट्रपतिमा सत्ता पक्षका उम्मेदवारलाई समर्थन गर्दै सरकारमा सहभागी हुन सक्ने आशय व्यक्त गरे।

यी दलहरुले राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे आन्तरिक रुपमा ‘लाइन क्लियर’ गरे पनि आचारसंहिता लागु भइसकेकोले कुनै पनि उम्मेदवारको विषयमा खुल्न भने पाइने छैन।

‘१७ गतेबाट नै आचारसंहिता लागु भइसकेको छ, आचारसंहिता लागु भइसकेकाले अब कुनै पनि राजनीतिक दलले राष्ट्रपतिको उम्मेदवारको पक्ष वा विपक्षमा खुल्न पाउँदैनन्। अब पनि पक्षयधरता देखाए कारबाही हुन्छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने।

नेपालको विद्ययमान कानुनअनुसार राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश सभाका सदस्यहरुले मतदान गर्न पाउँछन्। संघीय संसदका प्रतिसदस्यको मतभार ७९ र प्रदेश सभाका प्रतिसदस्यको मतभार ४८ हुनेछ।

प्रकाशित मिति: : 2023-03-08 10:36:00

प्रतिकृया दिनुहोस्