माओवादी धारका ८ पार्टीकाे निर्णय- शान्ति सम्झौताविपरीत हुने गतिविधिको प्रतिवाद गर्ने

माओवादी धारका नेताहरूले विस्तृत शान्ति सम्झौताविपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने निर्णय गरेकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको माओवादी धारका ८ पार्टीको बैठकले यस्ताे निर्णय गरेकाे हाे।

बैठकमा संक्रमणकालीन न्यायसंग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्नेमा नेताहरूले एकमत रहेका छन्।

'विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गरिने। संक्रमणकालिन न्यायसंग सम्बन्धित  सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्नेमा एकमत। र, सिघ्र रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण। विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छौं', निर्णयमा भनिएको छ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका डा बाबुराम भट्टराई, नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल, नेकपा(माओवादी समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमाल सहभागी थिए।

प्रकाशित मिति: : 2023-03-07 11:22:00

प्रतिकृया दिनुहोस्