होलीको पूर्वसन्ध्यामा ‘मधेसी एकता समाज युएई’ले दुबईमा होली विशेष कार्यक्रम आयोजना गरेको छ।
दुबईको बुर्जमानस्थित 'होटल होलिडे ईन'मा आइतबार सम्पन्न होली विशेष कार्यक्रम 'होली धमाका- २०२३' मा सुपरिचित राजनीतिक विश्लेषक सिकेलाल, टिकटक स्टार प्रिती पासवान, कलाकारहरु देवेन्द्र सोनि, शिवानी भगत, देव अहिरारावसमेत सहभागी थिए।
युएईमा क्रियाशील दर्जन बढी संघ संस्थाका प्रतिनिधि तथा कामको सिलसिलामा विभिन्न राज्यमा बसोबास गर्दै आएका नेपालीहरु सहभागी उक्त कार्यक्रम नेपाल र भारतबाट आएका कलाकारहरुले नेपाली, भोजपुरी, मैथिली र हिन्दी भाषाका गीतहरु प्रस्तुत गरेर दर्शकलाई नचाएका थिए। कार्यक्रममा टिकटक स्टार प्रिती पासवानले आकर्षक नृत्यहरु प्रस्तुत गरेकी थिइन भने नेपाली बोयज समूहले आकर्षक 'ब्रेक डान्स' प्रस्तुत गरेका थिए।
नेपाल र युएई दुवै देशको राष्ट्रिय गानका साथ आरम्भ भएको कार्यक्रममा राजनीतिक विश्लेषक सिकेलालको प्रमुख आतिथ्य रहेको थियो भने आयोजक मधेसी एकता समाज युएईका संस्थापक सदस्य डाक्टर रवीन्द्र यादव, पूर्व अध्यक्ष मुकेश झा, संस्थाकी नेपाल संयोजक डाक्टर बोबी यादवसहित युएईमा क्रियाशील नेपाली संघ संस्थाका प्रमुखहरुको आतिथ्य रहेको थियो।
कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक सिकेलालले प्रवासमा देखिएको नेपालीहरुको एकता र सहकार्यको प्रसंसा गरेका थिए। उनले विदेशी भूमिमा नेपाली चाडबाडहरुको उपलक्ष्यमा कार्यक्रमहरु आयोजना गरिएकोप्रति खुसी व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा नेपाल र भारतबाट आएका अतिथि कलाकारहरु, युएईमा क्रियाशील नेपाली कलाकारहरु र विभिन्न माध्यमबाट संस्थालाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो भने संस्थाका अध्यक्ष कृष्ण ठाकुरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए।