शिक्षा क्षेत्रको सौर्य मण्डल बन्दै ‘मनास्लु’

सुनिता लामा

काठमाडौं
BreaknLinks
BreaknLinks

विश्वका चर्चित व्यक्तित्वहरु चाहे त्यो जुनसुकै क्षेत्रको होस्, उनीहरुले विद्यार्थीकालदेखि नै आफूभित्र भएको प्रतिभालाई कुनै न कुनै माध्यमबाट प्रस्फुटित गर्दै चर्चाको शिखरसम्म पुर्याएका हुन्छन्। यसको निम्ति एउटा सहि मार्गदर्शक र प्लेटफर्मको आवश्यकता पर्दछ। जसको केही प्रतिशत मनास्लु वर्ल्ड  कलेजले परिपूर्ति गरिरहेको छ भन्दा कुनै अत्युक्ति हुँदैन।

अहिलेको एक्काइसौँ शताब्दीमा यस्तै अत्यावश्यक शिक्षा प्रदान गर्दै हरेक विद्यार्थीहरुलाई सीपयुक्त, दक्ष, योग्य र उर्जाशील बनाउँदै विश्वका कुना-काप्चामा नेपाली विद्यार्थीको पहुँच पुर्याउन मनास्लु वर्ल्ड कलेज सफल रहेको छ।

विद्यार्थीको यही सीप, कौशलता, सृजना र दक्षतालाई दीर्घकालीन राख्नको लागि मनास्लु कलेजले विद्यार्थी केन्द्रित शिक्षण पद्धति र विधिलाई अनुसरण गरिरहेको बताउँदै बाग्मती प्रदेश राष्ट्रिय परीक्षा बोर्ड प्रमुख जयन्ती सत्यालले हरेक विद्यार्थीले अध्ययनलाई गम्भीर रुपले लिनुपर्नेमा जोड दिइएको थियो।

साेमबार मनास्लु वर्ल्ड कलेजले आफ्नो स्थापना कालको २५औँ स्थापना दिवस तथा रजत जयन्ती भव्य र सभ्य तरिकाले मनाएको छ। मनास्लु सम्मान कार्यक्रमको रुपमा आयोजना गरिएको उक्त सम्मान तथा बिदाइ कार्यक्रममा विभिन्न क्षेत्रका पाँच जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीद्वारा उद्घाटित उक्त कार्यक्रममा विशेष गरी कक्षा १२ का विद्यार्थीहरुको बिदाइ तथा नयाँ विद्यार्थीको स्वागत गर्नुका साथै बेलायतको गुणस्तर व्यवस्थापन प्रणालीले प्रदान गरिएको आइएसओ २००९-२०१५ गुणस्तर प्रमाण पत्रद्वारा मनास्लु कलेजलाई विभुषित पनि गरिएको थियो।

'आजका विद्यार्थीहरु नै भोलिका देश हाँक्ने योद्धाहरु हुन्। उनीहरु नै भोलिका चर्चित, सफल र असल व्यक्तित्वको रुपमा परिचित हुने कुरामा कुनै दुई मत नै छैन। शिक्षा क्षेत्रमा मनास्लु वर्ल्ड कलेजले खेलिरहेको भूमिका अत्यन्त उत्कृष्ट रहेको छ', मन्त्री मोदीले भने, 'मनास्लुले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई प्रतिकात्मक रुपमा गरेको सम्मानले यही तथ्यलाई उजागर गरेको छ।'

२५ वर्षअघि भुवनेश्वरी पब्लिक विद्यालयबाट स्थापना भई प्राक्सिस इन्टरनेशनल एकेडेमी हुँदै मनास्लु वर्ल्ड कलेजको रुपमा स्थापित भएको कलेजका अध्यक्ष गेन्द्र लामाले बताए। उनले अहिलेको एक्काइसौँ शताब्दीको माग र आवश्यकता अनुसारको शिक्षा मनास्लुले दिइरहेको र मनास्लु वर्ल्ड कलेज देश तथा जनताको निम्ति आवश्यक नक्षत्रहरुको उत्पादन हुने एक सौर्य मण्डलको रुपमा स्थापित हुन सफल भएको बताएका थिए।

विद्यार्थीहरुको विभिन्न साँस्कृतिक प्रस्तुतिहरु रहेको उक्त कार्यक्रममा मनास्लु कलाकारिता सम्मानबाट नेपाली गीत-संगीतका वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, मनास्लु पत्रकारिता सम्मानबाट एपी वान टेलिभिजनका प्रधान सम्पादक टिकाराम यात्री, मनास्लु खेलकुद सम्मानबाट क्रिकेटर पारस खडका, मनास्लु शिक्षासेवी सम्मानबाट ऋतुराज सापकोटा र मनास्लु समाजसेवी सम्मानबाट रामजी अधिकारीलाई विशेष सम्मान गरिएको थियो।

कलेजको आन्तरिक मूल्यांकनबाट उत्कृष्ट ठहरिएका शशीकुमार केसी (एकेडेमिक हेड) लाई मनास्लु विशेष सम्मान प्रदान गर्नुका साथै कलेजमा अध्यापनरत उत्कृष्ट पाँच शिक्षकहरु, गत वर्षका कक्षा १२ का टप सेभेन र यस वर्षका टप टेन विद्यार्थीहरु पनि सम्मानित भएका थिए।

प्रकाशित मिति: : 2023-02-28 13:37:00

प्रतिकृया दिनुहोस्