आक्रामक टेलिभिजन प्रस्तोताबाट राजनीतिक नेता हुँदै गृह मन्त्री भएर एक झट्कामा पुन: सामान्य व्यक्ति भएका बहुचर्चित व्यक्तित्व रवि लामिछानेले नेपाली पत्रकारिता जम्मा ‘१२ भाइ’को कब्जामा रहेको र उनीहरुले पत्रकारिताको आडमा अनैतिक कार्य गर्दै आएको बताएपछि नेपाली समाजमा जुन भुइँचालो गएको थियो। त्यसको स– साना धक्का अर्थात् पराकम्प जाने क्रम हालसम्म रोकिएको छैन। लामिछानेको दाबीलाई पुष्टि गर्दै वरिष्ट पत्रकार पी खरेलले १२ भाइको साथै उनीहरुका झड्केला भाइहरु धेरै भएको र त्यी को-को हुन् भन्ने विषयमा अनुसन्धान नै गर्नुपर्ने कुरा बताएपछि नेपाली पत्रकारिता र पत्रकारको स्तर कतिसम्म घटिया रहेछ भन्ने कुरा लाटोले पनि बुझ्न सक्छ।
लामिछाने आफैं कत्तिको नैतिक पत्रकार हुन् र उनले पत्रकारिताको आडमा के कति जायज वा नाजायज काम गरे त्यो बेग्लै बहसको विषय होला। तर, उनले जे जति बोले त्यो शतप्रतिशत र अक्षरस सत्य थियो, जसलाई कसैको हो वा होइन भन्ने समर्थन वा विरोधको आवश्यकता छैन। लामिछानेले नेपालका कथित एक नम्बरदेखि बिनानम्बर सम्मका मिडिया हाउसहरुलाई पोलेपछि हाल सम्बन्धित मिडिया हाउसमा काम गर्ने पत्रकारहरु आ–आफ्ना प्रकाशक अर्थात् मालिकहरुको स्तुतिगान गाउन व्यस्त छन्, जसको बदलामा उनीहरुको जागिर केही समयको लागि लम्बिने पक्का छ।
त्यसै पनि पत्रकारिता पेसालाई समाजले स्वीकार गर्दैन। आजको समयमा पत्रकारले अरु पेसाका मान्छेहरुलाई नगनेको जस्तै पत्रकारलाई पनि कसैले गन्दैन, भलै यो कुरालाई कसैले ह्रदयदेखि स्वीकार गर्न नसकोस्। साथै यो पेसामा लागेकाले आफूलाई सर्वज्ञाता सम्झिने, अर्कै ग्रहको प्राणी हो जस्तो मान्ने गर्नाले पनि अन्य सर्वसाधारणलाई पत्रकार भनेको असल मान्छे हो जस्तो लाग्दैन, भलै कसैले स्वीकार गरोस् वा नगरोस्।
महिनौंसम्म तलब नपाउने, तलब नपाए पनि मैले पाएको छु, अरुको थाहा भएन भन्ने जस्ता झुट बोल्नुपर्ने बाध्यता हाल पनि पत्रकारलाई छ। सम्पादकलाई दाइको फुर्को जोडेर सम्मान गर्नुपर्ने, तलब माग्यो भने जागिर जान्छ र अर्को ठाउँमा तुरुन्तै जागिर नपाउने डरजस्ता कुराले पनि अरुको कुरा खोतल्दै हिँड्ने पत्रकार आफ्नो लागि कसले बोल्दिने हो भन्ने आशामा बसेका छन्।
धेरै पहिले एउटा टेलिभिजन च्यानलका मालिकले महिनौंसम्म तलब नपाएका पत्रकारले आन्दोलन गर्दा तिमीहरुलाई जागिर पनि दिनु, तलब पनि दिनु, कसरी हुन् सक्छ भनेर थर्काएको सुन्नमा आएको थियो। यो कुरा कति सत्य वा झुट हो, त्यो पंक्तिकारलाई जानकारी भएन तर झुट नै भए पनि कुरा मिल्दोजुल्दो भनेछ।
सबै पत्रकारले आ-आफ्नो बिट (क्षेत्र)अनुसार पत्रकारिता गर्छन्। त्यसमा सबैभन्दा प्रमुख र समाचार माध्यम हामी नभए खतमै हुन्छ भनेर सोच्ने राजनीतिक बिटका पत्रकारलाई छ। नेताको अघिपछि लागेर उनीहरुको महिमागान गाउन पाउँदा यिनीहरु गज्जक फुलेर बसेका हुन्छन्। म फलानो नेताको नजिक छु वा म ढिस्कानो नेताको सुत्ने कोठासम्मै पुग्छु भन्न पाउँदा यिनीहरुलाई गर्व लाग्छ। पंक्तिकारलाई आश्चर्य लागेको के भने यिनीहरु पत्रकार हुन् कि नेताका कारिन्दा ? यस्तै एक राजनीतिक समाचार लेख्ने र हाल आफूलाई नेपालको नम्बर– १ अनलाइनको सम्पादक भन्न रुचाउने पत्रकारको पुस्तक एउटा गुण्डाले प्रकाशित गरिदिएको र त्यसको साक्षी म पनि भएको सबैलाई जानकारी गराउन चाहन्छु।
त्यस्तै व्यापारीले आयोजना गरेको कार्यक्रममा गएर टन्न मदिरापान गरेर आयोजकसँग ट्याक्सी खर्च माग्ने आर्थिक पत्रकारको ठुलै झुन्ड छ र उनीहरुको संघ पनि छ। बैंकको शाखा र एटीएम उद्घाटन गरेको समाचार छाप्ने र त्यो समाचारको आधारमा विज्ञापन मागेर आफ्नो गुजारा चलाउने पत्रकारले बजेट भाषणको हावादारी विश्लेषण गरेको देख्दा अर्को अच्चम लाग्छ। विश्व अर्थतन्त्रका समाचारको खासै पहुँच नभएका यस्ता धेरै आर्थिक पत्रकारलाई आइएमएफ भनेको कुन चराको नाम हो, त्योसम्म पनि जानकारी छैन।
आफूलाई अर्कै ग्रहको जस्तो ठान्नेमा पर्छन्, अपराध बिटमा काम गर्ने पत्रकारहरु। प्रहरी अधिकारीसँग दोहोरो संवाद गर्न पाउनुलाई अहोभाग्य सम्झने यिनीहरुलाई अन्य बिटकाहरुले पनि सम्मानको दृष्टिले हेर्ने गर्छन। प्रहरी अधिकारीहरुको प्रहरी जवान सँगसँगै बसेर भात खाएको, एउटा पोस्टबाट अर्को पोस्टमा सरुवा भएको जस्तो मूल्यहीन समाचार छाप्रे र त्यसको बदला पेट्रोल, मोबाइल फोनजस्ता उपहार लिएर यिनीहरु जराबाटै भ्रष्ट छन्।
अब पाठकवर्गले आफैं अनुमान गर्नुहोस्, यिनीहरुले के सत्य सूचना प्रकाशित गर्लान ? यस्ता केही पत्रकारले लगभग हरेकदिन जस्तो सामाजिक सञ्जालमा फलानो एसपी वा ढिस्कानो एआइजीको जन्मदिनको शुभकामना भनेर सकेसम्म उनीहरुसँग कुम जोडेर खिचेको फोटो वा होइन भने उनीहरुको मात्र भए पनि फोटो राखेर बधाई भन्ने पोस्ट अपलोड गर्छन्। यस्ता गतिबिधिबाट उनीहरु के प्रमाणित गर्न खोज्छन्, त्यो पंक्तिकारको मन्दबुद्धिले बुझ्न सकेको छैन।
अरुले खासै गम्भीरतापूर्वक नलिने र आफ्नो बिटका पत्रकारसँग मात्र सम्बन्ध र सम्पर्क हुनेमा पर्छन्, मनोरञ्जन पत्रकार। सिनेमाको प्रिमियरमा नि:शुल्क पास लिनु र म्युजिक एल्बमको सीडी सित्तैमा लिनु वरिपरिनै यिनीहरुको पत्रकारिता घुमेको छ। आफूलाई वास्ता नगर्ने नायक वा नायिकाको चरित्र हत्या गर्नु यिनीहरुको प्रमुख कार्य हो।
मेरा एक मित्रका मित्र तथा चर्चित सिने कलाकार सरोज खनाललाई उनी अमेरिका बसेको वा नेपाल गएको वा फेरि अमेरिका फर्केको जस्ता नितान्त निजी गतिविधिलाई यसरी उछाले कि सायद कलाकार खनाललाई म किन कलाकार भएछु जस्तो लाग्यो होला। यदी चियोचर्चो वा तर्कवितर्क हुने हो भने उनको अभिनय कस्तो हुनुपर्त्यो ? कसैलाई उनको अभिनय मन परेन भने पनि त्यो स्वभाविक हो र त्यसमा उनले पनि कुनै चित्त दु:खाइ गर्न हुँदैन र सायद गर्दैनन् पनि होला भन्ने मेरो बुझाइ छ।
खनाल कलाकारभन्दा पहिले एक मान्छे हुन् र कानुनको परिधिभित्र रहेर हरेक क्रियाकलाप गर्ने अधिकार अरुजस्तै उनलाई पनि छ। पत्रकारिताको नाममा यतिको अन्याय कसैले कसैलाई पनि गर्नु हुँदैन। यो एउटा उदाहरण मात्र हो, यस्तो अन्याय अरु कलाकारलाई पनि परेको हुन सक्छ। त्यस्तो काम कसैले पनि गर्नु उचित होइन।
चलन/चल्तीको भाषामा ट्रयाकसुट भनिने र ज्याकेटको हातमा र सुरुवालको दायाँ बायाँ धर्का भएको टिमिक्क परेको लुगा लगाएर रंगशालाको वरिपरि घुम्ने खेलकुद पत्रकारको पनि कमि छैन, हाम्रा सञ्चार मध्यममा।
खेलको सामान्य ज्ञान नभएकाले प्रस्तुत गरेको समाचार कतिको विश्वासनीय होला प्रबुद्ध पाठकवर्गले आफैं अनुमान गर्नुहोला। टेबल टेनिस प्रतियोगिता भएको स्थानबाट न्युज डेस्कमा ‘मिक्स डबल’ भनेको के हो भनेर सोध्ने र ब्याडमिन्टनमा नेपाल प्रथम भन्नलाई ब्याडमिन्टनको ‘ब्ल्याक बेल्ट’ भन्ने वरिष्ट खेलकुद पत्रकार अझै पत्रकारितामै छन्।
यसको साथै मलाई परिचयपत्र मात्र भएपुग्छ भन्ने पत्रकारहरु र सूचना विभागको रातोकार्ड बोकेर रोडा बालुवाको व्यापार गर्नेको पनि कमी छैन। जो वास्तविक पत्रकार हुन्, उनीहरु यो आलेख पढेर उत्तेजित हुदैनन् भन्ने मेरो विश्वास हो। तर, जो यो कोटिमा पर्छन्, उनीहरु मेरा शत्रु भएकोमा मलाई खुसी हुनेछ।
अन्तमा लामिछानेले यो भने र ऊ भने भनेर कुतर्क गर्नुभन्दा आफैंलाई सुधार गर्न सक्यो भने ‘म पत्रकार हुँ’ भनेर शिर ठाडो पारेर हिँड्न सकिन्थ्यो कि ?
– twitter@naviinr