सिद्धार्थ राजमार्गको दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ।
सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माणको काम भइरहेकाले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा दैनिक ८ घण्टा सिद्धार्थ राजमार्ग बन्द हुने भएको हो।
जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले वैकल्पिक सडकको व्यवस्थापन गरी दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजे सम्म सडक बन्द गरी काम गर्न दिने निर्णय भएको प्रमुख पाल्पाका जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए।
समितिको बैठकले सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको कामका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न तत्कालका लागि १५ दिन राजमार्ग बन्द गरेर काम गर्न दिइने निर्णय गरेको हो।
सडक बन्द रहेको समयमा आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र साना/मझौला सवारी साधनका लागि दोभान–नुवाकोट खण्डको भित्री सडक प्रयोग गर्न सकिने छ। जसका लागि बैंठकले निर्माण व्यवसायीलाई उक्त सडकको आवश्यक मर्मत गर्न निर्देशन दिएको छ।
सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले तत्काल स्तरउन्नती गर्ने सहमति भएको छ। कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँमा सुरुङमार्गको ठेक्का लिएर पूर्वतयारीको काम गरिरहेको छ।
सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म १ हजार १ सय २६ मिटर दुरी रहेको सुरुङको पूर्वतयारीको काम भइरहेको सिद्धबाबामा सुरुङमार्ग योजनाका प्रमुख होमबहादुर एसीले बताए।
सुरुङमार्ग निर्माण कम्पनीले सम्झौताअनुसार डीपीआरको काम सकेर सडक विभागलाई बुझाइसकेको छ। ठेक्का सम्झौता गरेको नौ महिनापछि कम्पनीले विस्तृत डिजाइन सडक विभागलाई बुझाएको हो।
साइट क्याम्प बनाउने, बाल लगाउने, साइट क्लियरेन्स गर्ने, डाइभर्सन सडक बनाउने, गुणस्तर मापनको ल्याब इन्सटल गर्ने, क्रसर प्लान्ट बनाउनेलगायतका पूर्वतयारीको काम अघि बढिसकेको छ। अब वाटरट्यांक बनाउने, हेलिप्याड बनाउनेलगायतका काम बाँकी छन्। त्यो अवस्थामा अबको डेढ महिनामा आयोजनाको निर्माण औपचारिक रूपमा सुरु गर्न सकिने आयोजना प्रमुख एसीले बताए।
निर्माण कम्पनीसँग पाँच वर्ष अवधिका लागि ठेक्का सम्झौता गरेकोमा त्यसमा नौ महिना आयोजनाको डिजाइनमै सकिएको छ। अब बाँकी रहेको चार वर्ष तीन महिनामा आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने छ। ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि थप पाँच वर्ष आयोजनाको सञ्चालन तथा मर्मत गर्ने कामसमेत चिनियाँ कम्पनीले गर्नुपर्नेछ।