प्रियंका हत्या प्रकरण: शंकाको भरमा श्रीमतीको हत्या, गाडी खोज्दा बाहिरियो घटना

मोरङको विराटनगरकी प्रियंका सुनुवारको हत्या आफ्नै श्रीमानले गरेको खुलेको छ। हत्या गरेर बोराभित्र हालेर फालेको अवस्था सोमबार दिउँसो प्रियंकाको शव बुढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको गाई गोठमा फेला परेको थियो।

प्रहरीले हत्या गरेको आरोपमा प्रियंकाका श्रीमान २९ वर्षीय रमेश साहसहित अन्य तीन जनालाई सोमबारनै पक्राउ गरिसकेको छ। प्रहरीले कटहरी ५ का ६२ वर्षीय रामानन्द राम, सोही स्थानका ३५ वर्षीय उमेश सरदार, र विराटनगर ७ का ५३ वर्षीय श्रीराम चौधरीलाई सोमबार दिउँसो पक्राउ गरेको हो।

माइती घर भारत भएकी प्रियंकाको घर विराटनगर-१९ मा छ। मोरङ प्रहरीले पारिवारिक खटपटका कारण शंकाकै भरमा हत्या भएको जनाएको छ। प्रियंकाका श्रीमान (रमेश शाह) ले परपुरुषसँग सम्बन्ध रहेको शंकामा श्रीमतीको हत्या गरेको खुलेको छ।

पारिवारिक सम्बन्धमा आएको खटपटका कारण नै रमेशले योजनावद्ध तरिकाले प्रियंकाको हत्या गरेको पाइएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। उनका अनुसार घटनामा संलग्न भएकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले शरीरभर चोटपटक लागेका कारण हत्या गरेर शव लुकाउनका लागि बोराभित्र हालेर फालेको हुनसक्ने बताए। घटनाको जानकारी पाएलगत्तै मोरङ प्रहरीका डिएसपी रन्जनकुमार दाहाल नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।

स्थानीयका अनुसार रमेश र प्रियंकाबीच पटकपटक एकअर्कालाई आशंका गरेर झगडा गेर्न गर्थे। उनीहरुको झगडा स्थानीय प्रहरीसम्म पुगेको थियो। केही समययता उनीहरु एक अर्कालाई निकै शंका गर्थे। उनीहरूका ८ वर्षीय छोरा र ६ वर्षीया छोरी छन्।

कसरी घट्यो घटना?

रमेशले श्रीमती प्रियंकालाई घुम्नका जानका लागि आइतबार घरबाट लिएर बुढीगंगा लगे। त्यहाँ उनले अमाहीमा रहेको नरसिंह चौधरीको घरमा पुर्याए।

उनीहरु बाइकमा गएका थिए। तर, रमेशले रमानन्द राम र उमेश सरदारलाई पनि साथमै लगेका थिए। रमानन्दका माध्यमबाट रमेशले प्रियंकालाई नरसिंह चौधरीको घरमा पुर्याएका थिए। रमानन्द र नरसिंह नातेदार हुन्।

प्रहरी स्रोतका अनुसार अमहीमा नरसिंह चौधरी आफ्नी पत्नि र एक छोरासँग बस्दै आएका थिए। तर, आइतबार दिउँसो नरसिंह घरमा एक्लै थिए। त्यहीबेलामा रमेश श्रीमती र अन्य दुई जना लिएर त्यहाँ पुगेका थिए।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार रमेशले प्रियंकालाई नरसिंहको घर पुर्याएपछि रमानन्दले नरसिंहलाई गाउँतिर पठाएका रहेछन्। उनले भने, ‘घर मुलीलाई बाहिर पठाएपछि रमेश र प्रियंका घरभित्र पसे। त्यही बीचमा उनीहरूबीच विवाद भयो। लडाएर घाँटीमा तन्नाले थिचेर हत्या गरेको आरोपीले स्वीकार गरेका छन्।’

हत्या गरेपछि शव प्लाष्टिकको ठूलो बोरामा हालेर ग्वालीमा लुकाएको ती प्रहरी अधिकारीले जानकारी दिए।

शव वहान खोज्दा बाहिरियो घटना?

प्रियंकाको हत्या गरेपछि उनीहरुले दुई जनाले बोरामा पोको पारेर ग्वालीमा राखेर हिडेका थिए। हत्या गरेर बोरामा हालेर गोठमा राखेपछि रमानन्द राम गाडी खोज्द विराटनगर आए। आइतबार राति ११ बजे उनी कोसी अस्पताल विराटनगरमा गाडी खोजिरहेका थिए।

रामले लास बोक्नुपर्ने भन्दै कोसी अस्पतालमा गाडीवालाहरुसँग भाडा सोधिरहेका थिए। तर, लास अस्पतालभन्दा बाहिर भएको भनेपछि उक्त सूचना प्रहरीसम्म पुग्यो। गाडी खोज्द कोसी अस्पताल पुगेका रामलाई प्रहरीले रातीनै नियन्त्रणमा लिएको थियो।

मानसिक रुपमा कमजोर जस्ता देखिएका रामले जब बुढीगंगा–२ मा एउटा लास व्यवस्थापन गर्नुपर्ने भने त्यसपछि प्रहरीले महिलाको हत्या भएको सूचना पायो। त्यही लासलाई व्यवस्थान गर्ने जिम्मा कटहरीका ६२ वर्षीय रामलाई दिइएकोले उनी गाडी खोजिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2023-02-21 13:44:00

प्रतिकृया दिनुहोस्