चन्द्र भण्डारीलाई थप उपचारकाे लागि मुम्बई लैजाने तयारी

File Photo
File Photo

ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ।

कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत भण्डारीलाई थप उपचारकाे लागि मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा लैजाने तयारी गरिएकाे बर्न अस्पताल पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले जानकारी दिए। यसअघि चिकित्सकहरुले यहाँ उपचार सम्भव नभएको भन्दै विदेशको कुनै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका थिए।

‘उहाँलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ,’ मन्त्री गिरीले भने,‘मुम्बईस्थित नेशनल बर्न्स सेन्टरका चिकित्सकहरूसँग कुराकानी भएको छ। उहाँलाई त्यहीँ लैजाने प्रक्रिया अघि बढेको छ।’

काठमाडौँको बुद्धनगरस्थित सांसद भण्डारीको निवासमा गएराति ग्यास सिलिन्डर बिस्फाेट भएको थियाे। बिस्फाेटबाट चन्द्र भण्डारीसहित उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी गम्भीर घाइते भएकी थिइन्। आमाकाे उपचारका क्रममा निधन भएकाे छ।

प्रकाशित मिति: : 2023-02-16 11:31:00

प्रतिकृया दिनुहोस्