अनेरास्ववियुले नेताहरूकाे वरिपरि घुमेर सेल्फी खिच्ने प्रवृत्तिकाे अन्त्य गर्छ: नारायण घर्ती

नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडाैँमा २३औँ राष्ट्रिय महाधिवेशन गर्दैछ। नेपालको विद्यार्थी आन्दोलनमा महत्वपूर्ण याेगदान पुर्‍याउँदै आएको यो संगठनको महाधिवेशनलाई निक्कै अर्थपूर्ण मानिन्छ। महाधिवेशनमा देशभरबाट सहभागी हुने १५ सय ७५ प्रतिनिधिहरूबाट नयाँ नेतृत्व चयन हुनेछ।

महाधिवेशन मिति नजिकिएसँगै अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत विभिन्न पदमा धेरै व्यक्तिहरूले आकांक्षा राखेका छन्। आकांक्षीहरूमध्ये महासचिव पदका प्रमुख आकांक्षी हुन्, नारायण घर्ती। लामो समयदेखि नेपालको विद्यार्थी आन्दोलनमा जोडिएका नारायण एक अनुभवी नेताको रूपमा स्थापित छन। उनले जिल्ला समिति हुँदै केन्द्रीय सदस्य, सचिवालय सदस्यसँगै हाल उपमहासचिवको जिम्मेवारीसमेत कुशलतापुर्वक निभाइसकेका छन।

अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनकाे तयारी, महाधिवेशनपछिको नेतृत्व, नेतृत्व छनोट, महासचिव पदमा आकांक्षा किन र महाधिवेशनपछिको अनेरास्ववियु कस्तो हाेला ? यी र यस्तै विषयमा रहेर बिएल नेपाली सेवाका लागि उनै नारायण घर्तीसँग ध्रुब बस्यालले गरेको कुराकानीको संम्पादित अंश प्रस्तुत छ:


महाधिवेशनकाे तयारी कस्ताे हुँदैछ ?

अनेरास्ववियु विद्यार्थीहरूको एउटा नेता संगठन हो। त्यसैले यसको महाधिवेशन पनि महत्वपूर्ण छ। हामीले अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न गर्न लागिरहेका छाैँ।

महाधिवेशनका लागि प्रतिनिधि छनोट, बसाइँ व्यवस्थापन र आर्थिक व्यवस्थापन कसरी गरिँदैछ ?

हाम्रो संगठनको विद्यानअनुसार देशभरका सबै जिल्ला तथा विश्वविद्यालय, प्रदेश हुँदै सम्पर्क समितिहरू छन्। ती मध्येबाट महाधिवेशनमा १५ सय ७५ जनाको प्रतिनिधित्व हुनेछ। उनीहरूको व्यवस्थापन निकै चुनाैतिपूर्ण छ तर हामीले सहज रूपमा व्यवस्थापन गर्न केन्द्रीय समितिको बैठकले विभिन्न ठाउँमा पदाधिकारीबाट उप-समितिहरूनिर्माण गरी मुल समितिमा अध्यक्षको नेतृत्वमा उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको हकमा उपसमिति गठन गरेका छौँ। आवास, खान/पानलगायत यातायात तथा आर्थिक रूपमा महाधिवेशन प्रतिनिधिहरूलाई व्यवस्थापनमा हामीले राम्रो व्यवस्थापन गरेका छौँ। अन्य संगठनले हेर्दा पनि अनेरास्ववियुले व्यवस्थित र मर्यादित महाधिवेशन गर्‍याे है भन्ने नमुना देखाउनका लागि हामीले त्याे प्रकारकाे व्यवस्थापन गरेका छौँ।

अनेरास्ववियुले महाधिवेशनपछि कस्तो नेतृत्व पाउँला ? गुटबन्दी गर्नमा अब्बल, नेताको वरिपरि सेल्फी खिचेर घुम्ने कि कुशल विद्यार्थीको संघटक ?

महाधिवेशनका दुई वटा उद्देश्य हुन्छन्। एउटा संगठनको नेतृत्व निर्माण गर्ने, अर्को संगठनले लिने नीतिको नेतृत्व गर्ने। हामीले असोज १ देखि ३ सम्म विद्यान महाधिवेशन गरेर संगठनले आगामी दिनमा लिने नीति र उद्देश्य पास गरिसकेका छाैँ। अब हामीले यो महाधिवेशनबाट नेतृत्व निर्माण गर्न लागिरहेका छौँ। त्यसैले यो महाधिवेशनबाट हामीले आगामी दिनमा अनेरास्ववियुलाई गतिशील रूपमा लिन सक्ने नेतृत्व निर्माण गर्छाैँ, जसले आम विद्यार्थीहरूलाई हामीसँग संघठित गर्दै अगाडि बढ्न सक्ने मान्छे संगठनको नेता हुनुपर्छ भन्ने रूपमा हामी लागिरहेका छौँ। हाम्रो संगठनमा अहिले सेल्फी खिँच्दै नेताको वरिपरि घुम्ने प्रचलन पनि देखिएको छ। याे विषयमा संगठनभित्र व्यापक रूपमा छलफल हुन जरूरी छ। हामी नेताको घरदैलोमा घुम्ने कि आम विद्यार्थीको बिचमा पुगेर विद्यार्थीहरूको हक हितका लागि बोल्ने प्रश्न खडा भएको छ। अब हामीले यो महाधिवेशनबाट देखिएका गलत प्रवृत्ति र शैलीलाई अन्त्य गर्दै साँच्चै विद्यार्थीहरूको बारेमा बोल्ने र नेपाल नै उपयुक्त गन्तव्य हो भन्ने वातावरण सिर्जन गर्ने छाैँ। अब हिजोको जस्तो देखाउन गरिएको प्रवृत्तिको अन्त्य गरी नेतृत्व निर्माण गर्ने र गलत संस्कृतिलाई विस्थापित गरेर यो महाधिवेशन लाग्नेछ।

तपाईंहरूको माउ पार्टी एमाले जस्तै अनेरास्ववियुको पनि टिका लगाएरै नेतृत्व छानिँदैछ कि प्रतिस्पर्धाबाट नेतृत्व चयन हुँदैछ ?

तपाईंहरूले गरेको आशंका र टिकाटिप्णी एक हदसम्म ठिक होलान्। तर, यो प्रश्नप्रति मेरो असहमति छ, किनभने कुनै विद्यार्थी संगठनले लोकतान्त्रिक प्रणालीबाट नेतृत्व निर्माण गर्ने अनेरास्ववियु नै हो। त्यसैले हामीले पहिलेदेखि नै कुनै-कुनै महाधिवेशनबाहेक सबै निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्दै आएका छौँ। २२औँ माहाधिवेशन २०७२ मा हामीले एमाले र माओवादीको पार्टी एकताका कारण दुई वटा नेतृत्व सहमतिमा अएका हौँ, नत्र हाम्रो इतिहासमा टिका लगाएर नेतृत्व दिने काम भएको छैन। अन्य विद्यार्थी संगठनमा त्यस्तो देखिँदैन। अहिलेको महाधिवेशन पनि हामीले देशभरका विद्यार्थीहरूबाट निर्वाचन प्रणालीबाट नेतृत्व निर्माण गर्ने छौँ। यदि पार्टी नेतृत्वले सहमतिमा ढोका खोले पनि हामीले निर्वाचन प्रणालीबाटै अगाडि बढ्ने सोचिरहेका छौँ। अनेरास्ववियुको निर्वाचन पेपरलेस इलेक्ट्रिक मेसिनबाट निर्वाचन गर्ने गरी अगाडि बढेका छौँ, जुन काम अरू संगठनले हामीबाट सिकोस् भन्ने छ। नेपाली वैज्ञानिकद्धारा निर्मित मेसिनको समेत सम्झाैता भएको छ। भोटिङ मेसिनबाट प्रतिनिधिहरूले मतदान गरेर नेतृत्व निर्माण हुन्छ। निर्वाचन प्रणलीबाटै अनेरास्ववियुको नेत्तृत्व निर्माण हुन्छ, तपाईं पनि शतप्रतिशत ढुक्क हुनुहाेस्।

महाधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्ष र महासचिव पदमा तिव्र आकांक्षी देखिएको छ, तपाईं महासचिवको आकांक्षी किन ?

२०७२ सालमा हाम्रो २२औँ महाधिवेशन सम्पन्न भयो। हामी त्यतिबेला सचिवालय तहमा निर्वाचित भएका थियौँ। त्यो पछि करिब ७/८ वर्ष हामीले गुजारेका छौँ। अहिले म उपमहासचिवको जिम्मेवारीमा छु। संगठनको सबै पद लगभग पार गर्दै गरेकाले अहिले महासचिवमा आकांक्षा राखेको छु। मेरो धारणा विद्यार्थीहरू माझ सुनाइसकेकाले अध्यक्षमा अरू साथीहरू हुनुहुन्छ, जो अहिले उपाध्यक्ष र महासचिव हुनुहुन्छ। त्यसैले म उपमहासचिवमा रहेकाले महासचिवको जिम्मेवारी सम्हाल्न सक्ने महासचिवको आकांक्षी हुँ।

महाधिवेशनपछि अनेरास्ववियुको नेतृत्व कसले हाँक्छ, आरसी लामिछानेले कि समिक बडालले ?

हाम्रो संगठनको विभिन्न च्यानलबाट प्रतिनिधि भएर आएका विद्यार्थीहरूले नै फैसला गर्ने छन्।

तपाईं सबैभन्दा धेरै महासचिवको आकांक्षी देखिनुहुन्छ, अध्यक्ष पदका लागि समिक बडाललाई अघि सार्दे हुनुहुन्छ ? के यो चर्चा सत्य हो ?

अध्यक्ष, उपाध्यक्ष हुँदै विभिन्न पदका आकांक्षीहरू मेरा लागि बराबर हुन्, संगठनमा सबैको महत्वपूर्ण योगदान छ। २ गते उद्घाटनपछि ३ गतेसम्म कस्तो वातावरण बन्छ, त्यो अनुसार अध्यक्षको जिम्मेवारी कसलाई दिने समयले बताउँला, सबै साथीहरू योग्य नै हुनुहुन्छ।

हालको उपमहासचिव स्वयम् तपाईं, गोविन्द गिरी र नरेश रोकायाले महासचिवका लागि दौडधुप थालिसक्नुभएको छ, अब महासचिवमा कसले बाजी मार्ला ?

यो निकै रोचक प्रश्न गर्नुभयो, हाम्रो संगठनकाे इतिहासमा विरासत छ। त्यो इतिहास, विरासत सबै लेयरहरू मैले पार गरिसकेको छु। केन्द्रीय कमिटी, सचिवालय र उपमहासचिवको जिम्मेवारी लिएर त्यही प्रकारको जिम्मेवारी पार गरिसकेकाले अहिले पनि संगठन विभागको जिम्मेवारी रहेकाले मैले गरेको योगदान, गतिविधिले गर्दा महासचिव काेजिम्मेवारी कुनै ठुलो कुरा होइन, नौलो होइन।

तपाईं तीनै जना एमाले महासचिव शंकर पोखरेलनिकट हुनुहुन्छ, माउ पार्टीले सहमतिको नाममा गोविन्द गिरी वा नरेश रोकायालाई महासचिव बनाएपछि तपाईं अनेरास्ववियुको उपाध्यक्ष हुन तयार हुनुहुन्छ ?

हामीले मान्दै आएको बहुदलीय जनवाद, लिडरसीप नेतृत्वले गरेको निर्णयलाई म असहमत रहँदैन। महासचिव नभएर उपाध्यक्ष पदमा बस्ने/नबस्नेबारे सोच्नुपर्छ। किनभने, सही व्यक्ति सही ठाउँमा रहे मात्र संगठन बलियो हुन्छ। मेरो चाहना महासचिव बन्नुपर्छ भन्ने छ। महासचिव बनेर अनेरास्ववियुलाई एक तहमा लैजाने सोच राखेकाले नेतृत्वले मेरो चाहना आकांक्षा र योजना कार्यन्वयन गर्ने सक्दैन। यस अर्थमा नेतृत्वबाट सही व्यत्तिलाई सही ठाउँमा राख्नुपर्छ भन्ने छ। नेतृत्वले मलाई उपाध्यक्ष हाेइन महासचिवमा नै व्यवस्थापन गर्नुहुन्छ र अरू साथीहरूलाई त्यहीअनुसार व्यवस्थापन गर्नु हुन्छ भन्नेमा आशावादी छु। आशा योजनाअनुसार चल्न सकिन्छ भनेर मैले महासचिवको नै परिकल्पना गरेको छु।

अनेरास्ववियुका नेता–कार्यकर्ताहरूले तपाईंलाई नै किन महासचिव बनाउने ? तपाईं महासचिव पदमा निर्वाचित भएपछिको अनेरास्ववियु कस्तो अनेरास्ववियु हुनेछ ?

हामीले यो महाधिवेशनका लागि एउटा नारा तयार गरेका छौँ, ‘नि:शुल्क शिक्षा स्वास्थ्य र रोजगार समृद्ध नेपालको मुल आधार, गुणस्तरीय शिक्षा गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ हामीले यो नाराबाटै हाम्रो गन्तव्य प्रष्ट हुन्छ। यी कुराको स्थापनाको लागि गतिशील संगठन चाहिने भएकाले र अबको स्ववियु निर्वाचनपछि हाम्रो संगठन देशको पहिलो शक्ति बनाउनुपर्ने भएकाले यो महाधिवेशनले त्यो प्रकारको नेतृत्व निर्माण गर्नेछ।

प्रकाशित मिति: : 2023-02-06 21:45:00

प्रतिकृया दिनुहोस्

    हार्दिक शुभकामना छ। नारायण घर्ती ज्यू यहाँको पार्टी प्रतिको लगाव ,सम्मान र सद्भाव सधैं उस्तै देखिन्छ । देश र जनताकै लागि आफ्नो जीवन समर्पित गर्नु भएको छ हामी नेपाली आम विद्यार्थी ले आवेश्य मूल्यांकन गर्ने छौ।

    • एक बर्ष अगाडि
    • Rashmi Rai