‘विवाद र स्वार्थकाे घेरा’मा रास्वपाका तीन पात्र, बाँकी सबै एकातिर

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘केन्द्रीय समिति र संसदीय दल’को संयुक्त बैठकमा अधिकांश केन्द्रीय सदस्य तथा सांसदहरू पार्टी नेतृत्वसँगै महामन्त्री मुकुल ढकालप्रति खनिएका छन्।

केन्द्रीय सदस्य र सांसदहरूले रास्वपालाई ‘लामिछाने–अर्याल–ढकाल’ नामक गैरसरकारी संस्था बनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सभापति रवि लामिछानेले बैठकको सुरुमै ‘आज केन्द्रीय सदस्य र सांसदहरूका कुरा पनि सुन्छु’ भनेपछि नेताहरू एकहदसम्म मत्थर भएको रास्वपाकी एक केन्द्रीय सदस्यले जनाएकी छन्। 

पालैपालो नेताहरूलाई छोटो समय बोल्न दिएका सभापति लामिछानेले मिडिया र सोसियल मिडियामा जे–जस्तो प्रचारबाजी भएपनि आफ्नो पार्टी तत्काल सरकार नबाहिरिने प्रष्ट पारे। 

‘हामीलाई हेप्न खोजियो। गृहमन्त्रालयमा म नै जानुपर्छ भन्ने छैन। तर त्यो हाम्रो भागमा परेको मन्त्री पद हो नी! त्यसकारण पनि केही बोल्नैपर्ने भयो अनि बोलेँ,’ उनले बैठकको सुरुमै भने।

बैठकमा महामन्त्री मुकुल ढकालले पार्टीभित्र वा बाहिर भइरहेको राजनीतिक चर्चाबारे बिफ्रिङ गरेपछि केन्द्रीय सदस्य र सांसदहरूले आ–आफ्नो भनाइ राखे।

केन्द्रीय सदस्य गणेश कार्की भने बैठकको सुरुमै सभापति लामिछाने र महामन्त्री ढकालप्रति खनिए। ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा कैयौं योग्य नेताहरू छन्। तर एउटा गतिलो महामन्त्री किन छैन’ भन्दै प्रश्न गरे। 

दायाँबायाँ हेरेर बोल्न खोजिरहेका महामन्त्री ढकाललाई नेता कार्कीले अर्को प्रश्न थपे। ‘सभापतिज्यू हामीले जनताको मन र मत जितेका छौँ। हाम्रो पार्टी कमजोर बनाउने खेला सुरुबाटै भइरहेको छ। तर तपाईको दायाँबायाँ बस्नेहरूको अनुहार हेर्नोस् त, कस्ता–कस्ता पात्र छन्। अब म धेरै बोलिनँ,’ उनले भने, ‘पार्टीलाई पार्टीजस्तै बनाउनुपर्यो, हजुर! नेताहरूलाई मिडियामा प्रतिबन्ध लगाउने काम नगरौँ। हामीहरू संकटको डीलमा छौँ। तत्काल सरकारबाट बाहिरिने कुरा पनि नगरौँ।’

केन्द्रीय सदस्य कार्कीले बैठकमा दह्रोखरो गरी आफ्नो भनाइ राखेलगतै सदस्य तथा सांसदहरूले जोडतोडले ताली पड्काएको रास्वपाका एक सांसदले जनाएका छन्।

संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले गृहमन्त्रालय नपाएकै कारण सरकारबाट बाहिरिन नहुने तर्क राखे। ‘हामीहरूले राजनीतिमा अप्ठ्यारो बाटो रोजेका छौँ। हामी सुध्रिनुपर्छ, राजनीति पनि सुधारौँ। बिचल्लित हुनु हुँदैन। अहिल्यै सरकार नछाडौँ,’ उनले भने। 

अर्की केन्द्रीय सदस्य तथा सांसद सोविता गौतमले आफ्नो पार्टी फुटाउने हल्ला चलिरहेको बताउँदै सबै सदस्य र सांसदहरू चनाखो हुनुपर्ने बताइन्। कतिपय कमजोरीहरू पार्टी नेतृत्वबाट पनि भइरहेको बताउँदै सचिनुपर्ने उनको तर्क थियो।

सांसद मनिष झा, केन्द्रीय सदस्य दीपक बोहोरा, अरनिको पाँडेले ‘संसदीय दलको उपनेतालाई किन नेताको जिम्मेवारी नदिएको’ भन्दै महामन्त्री ढकालको आलोचना गरेका छन्।

‘विराजजीलाई दलको उपनेता बनाएपछि नेताको जिम्मेवारी दिनुपर्दैन! महामन्त्रीजीलाई जे मन लाग्यो त्यही निर्णय गर्ने छुट छ? उपसभापतिलाई सभापति जिम्मेवारी दिँदा त्यो नजिर हेनूपर्दै? मैले सुनेँअनुसार रविजीसँग पनि सल्लाह माग्नुभएन रे! महामन्त्रीजी तपाईको धेरै आलोचना भइरहेको छ,’ संयुक्त बैठकअघि सभापति लामिछाने, महामन्त्री ढकाल र सांसद झासँगको बसाइँमा केन्द्रीय सदस्य पाँडेले आक्रोस पोखेको रास्वपा स्रोतको दाबी छ।

प्रकाशित मिति: : 2023-02-03 07:12:00

प्रतिकृया दिनुहोस्