धाराको ‘धार’ले रोल्पा माओवादीमा भाडभैलो

File Photo
File Photo

गत मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा धारा चिन्ह लिएर चुनाव लडेका तत्कालीन माओवादी पोलिट्व्यूरो सदस्य तथा जिल्ला इन्चार्ज दिपेन्द्र कुमार पुन ‘सिजल’को धारले रोल्पा माओवादीमा भाडभैलो सुरु भएको छ।

जिल्लामा माओवादीको पकड हुँदाहँदै पनि गठबन्धनका तर्फबाट रोल्पा (ख) मा नेपाली काँग्रेसलाई दिएको भन्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर चुनाव लडेका पुन चुनाव जितेलगत्तै हतार–हतारमा क्षमा माग्दै पार्टीमा फर्केपछि जिल्लाको पार्टी कमिटीमा संशय पैदा भएको हो।

सिजलले छाडेको जिल्ला इन्चार्जमा राजबहादुर बुढा ‘अभिनास’ले जिम्मेवारी सम्हालेका थिए भने तत्कालीन जिल्ला संयोजक सुरेन्द्र थापाघर्ती ‘ध्रुव’ रोल्पा नगरपालिकाको मेयर लड्ने भएपछि जिल्ला संयोजकको जिम्मा गुणेन्द्र घर्ती ‘विज्ञान’ले पाएका थिए। नयाँ जिम्मेवारी पाएका अभिनास र विज्ञानले पार्टीको केन्द्रीय नीतिअनुसार गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेलेको भएपनि सिजलले माओवादीकै भोटमा चुनाव जितेपछि अहिले धाराको धारलाई लिएर पार्टीभित्र भाडभैलो सुरु भएको हो।

जिल्लाको नेतृत्व गरिरहेकाहरु आफूहरुको लाइन केन्द्रको लाइन र पार्टीको नीतिअनुसार भएकाले पार्टी नीति नमान्नेहरु नै कारबाहीको भागेदार हुनुपर्ने अडानमा छन् भने सिजलको पक्षमा लागेकाहरु अहिलेको नेतृत्वले राजीनामा दिएर ठाउँ खाली गर्नुपर्ने माग राखिरहेका छन्।

दुबै पक्षबीच विवादले उग्ररुप लिनसक्ने भएकाले पार्टीको जिल्ला कमिटी बैठक बस्न सकेको छैन। चुनाव सकिएलगत्तै अन्य दलहरुले समीक्षा बैठक तथा अन्य नियमित गतिविधिलाई निरन्तरता दिएपनि माओवादीकाे भने बैठक नै बस्न सकेको छैन।

जिल्ला संयोजक र इन्चार्ज धेरैजसो जिल्ला बाहिर नै बस्ने गरेका छन् सिजल समूहले भने पार्टीको जिम्मा नपाएकाले पानी विनाको माछाजस्तै भएका छन्।

सिजलको पक्षमा लागेकै कारण प्रदेशको उपाध्यक्ष पद गुमाएका बीरबहादुर खत्रीले चुनाव जितेकै दिनदेखि जिल्ला इन्चार्जले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्।

जिल्ला संयोजकले पनि केही समयअघि फेसबुक स्टाटस लेख्दै कुनै व्यक्तिले राजीनामा माग्दैमा नदिने बरु अझ कडा रुपमा प्रस्तुत हुने आशयको अभिव्यक्ति दिइसकेका छन्। यसको समाधान र जिल्लाको बैठक बस्नका लागि वर्षमान पुनलाई नै पर्खेर बस्नुपर्ने दुबै पक्षको बाध्यता रहेको छ। उता वर्षमान भने बिरामी भएकाले जिल्लामा आउन सकिरहेका छैनन्।

वर्षमान पुनभन्दा अरुले यो विवाद मिलाउन नसक्ने भएकाले रोल्पाली माओवादीहरु अहिले वर्षमानको स्वास्थ्य लाभको कामना गर्दै बसिरहेका छन्।

प्रकाशित मिति: : 2023-02-02 11:52:00

प्रतिकृया दिनुहोस्