बिहिबार, १८ सेप्टेम्बर २०२५

प्रेमप्रसादको नाममा दुई करोड सहयोग रकम जम्मा, सरकारसमक्ष हात फिजाउँदै श्रीमती

BreaknLinks
• • •

गत मंगलबार आत्मदाहकाे प्रयासपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यकाे नाममा करिब दुई कराेड सहयाेग रकम संकलन भएकाे छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि आफ्नाे शरीरमा आगाे लगाउनुअघि प्रेमप्रसादले आफ्नाे परिवार ऋणमा चुर्लुम्म डुबेकाेले आफू मरेर गए पनि परिवारकाे लागि सहायाेग गरिदिन भन्दै श्रीमती नानुका अधिकारीकाे बैंककाे खाता नम्बर उल्लेख गरेका थिए। उनकाे निधनपछि श्रीमतीकाे बैंक खातामा र अन्य माध्यममार्फत करिब दुई कराेड रकम उठेकाे परिवार निकट स्राेतले जनाएकाे छ।

प्रेमप्रसादले सामाजिक सञ्जालमार्फत करिब ६० लाख ऋण रहेकाे बताएका थिए।

प्रेमप्रसादकाे निधनपछि देशका विभिन्न संस्थाले सहयाेगकाे लागि अपिल गरेका थिए। भने, अमेरिका, अस्ट्रेलिया, जापान, काेरियालगायत देशहरुमा पनि फण्डिङ अभियान चलाइएकाे थियाे। साे अभियानमार्फत करिब दुई कराेड रकम संकलन भएपनि सबै रकम परिवारलाई भने प्राप्त भएकाे छैन।

यता, श्रीमती अधिकारीले पनि प्रेमप्रसादले सामाजिक सञ्जालमार्फत पैसा नदिएकाे र ठगी गरेकाे भन्दै उल्लेख गरेका संस्था र व्यक्ति गरी १५ जनाविरुद्धमा जिल्ला प्रहरी परिसर काठमाडाैँमा उजुरी दिएकी छन्। भने, श्रीमानकाे क्षतिपूर्तिकाे माग गर्दै सरकारसमक्ष निवेदन बुझाएकी छन्।

परिवारले प्रेमप्रसादलाई आर्थिक कृषि क्रान्तिकाे पहिलाे सहिद घाेषणा गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, प्रेमप्रसादले उठाएका २५ बुँदेहरु सुझावहरु सम्बाेधन गर्नुपर्ने माग राखेर प्रधानमन्त्रीलाई बुझाएकाे छ।

उनकाे परिवारले उक्त माग पूरा नभएकाे खण्डमा शिक्षण अस्पताल महाराजगञ्जबाट शव नउठाउने र अन्तिम संस्कारसमेत नगर्ने अडान लिएकाे छ।

त्यस्तै प्रेमप्रसादकाे न्याय माग्दै विराेध प्रदर्शन गरिरहेका युवा जमात भने परिवारले सम्रग युवाका मुद्दा उठाउनुपर्नेमा प्रेमकाे विषयलाई मात्रै अत्याधिक जाेड दिएकाे भन्दै रुष्ट बनेकाे छ।

‘हामी प्रेमजीकाे परिवारकाे लागि सहयाेग रकम त संकलन गरिनै रहेका थियाैँ, त्याे सँगै हामी प्रेमप्रसाद र सम्रग युवाकाे अवस्थाबारे मुद्दा बनाएर सरकारलाई दबाब दिन खाेजेका बेला उहाँकाे परिवार भने व्यक्तिवादी तरिकाले प्रस्तुत भएकाे छ,’ सामाजिक अभियान्त रेश्मा सिंहले भनिन्। उनले अब काेही पनि व्यक्ति प्रेमप्रसाद बन्न नपाराेस् भनेर आन्दाेलनलाई थप सशक्त बनाउने बताइन्।

घटना प्रेमप्रसादकाे भए पनि नेपालका धेरै युवा यी र यस्ता समस्याबाट गुज्रिरहेकाेले सम्रग युवाकाे मुद्दा लिएर सरकारलाई दबाब दिनुपर्ने उनकाे भनाइ छ।

यस्ता छन् सरकारसमक्ष प्रेमकाे परिवारले राखेका माग:

१. स्व. प्रेमप्रसाद आचार्यले उठाउनु भएको २५ बुँदे सुझावहरू मागहरू सम्बोधन हुनुपर्ने।

२. स्व.प्रेमप्रसाद आचार्यले बाध्य बनाएर आत्मदाह गर्न उत्प्रेरित गर्नेलाई कानुनी कारवाही गर्नुपर्ने।

३. किसान र कृषिउपजलाई विना अवरोध नगदमा कारोबार गर्ने व्यवस्था मिलाउनु पर्ने।

४. बैक तथा वित्तीय संस्थाले गरिरहेको चर्को व्याजदर कम गर्ने तथा सरल कर्जा सहज रूपमा उपलब्ध गराउनुपर्ने।

५. स्व.प्रेमप्रसाद आचार्यले लिएको कर्जा राज्यले स्वामित्व लिई चुक्ता गरिदिनुपर्ने।

६. नावालक सन्तानलाई उनीहरूले चाहेको विद्यालय शिक्षा देखि निशुल्क उच्च शिक्षासम्मको ग्यारेन्टी राज्यले गर्नुपर्ने।

७. स्व.प्रेमप्रसाद आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम सहिद घोषणा गर्नु।

८.राज्यले प्रदान गरेका कृषि अनुदानको निश्पक्षताको विषयमा अनुसन्धान गर्नुपर्ने।

९. कुनै पनि युवाले राज्यको नीतिको कारणले मृत्युवरण गर्नुपर्ने अवस्था सृजना नहोस्।

१०. आर्थिक लेनदेन तथा उधारो बजार सम्बन्धी कानुन तत्काल ल्याउनुपर्ने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!