दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा कर्मचारीको दरबन्दी कम हुँदा समस्या हुँदै आएको छ।
नेपालमा पढाइसहित विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित टिचिङमा हाल दरबन्दीमा आठ सय कर्मचारी कार्यरत छन्।
विसं २०४० असार ३१ गते तीन सय एक शय्यामार्फत स्वास्थ्यसेवा प्रदान गर्दै आएको टिचिङ अस्पतालले हाल नौ सय ७० शय्यामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ।
त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टर र विपी कोइराला नेत्र अध्ययन केन्द्र पर्दैन। यी दुई निकाय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित हुँदै आएका छन्।
अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले अस्पतालमा विभिन्न सेवा र शय्या थपिँदै गएको र दरबन्दी नथपिँदा अस्पताल सञ्चालनमा समस्या हुँदै गएको बताए। ‘अस्पतालमा दरबन्दी एक हजार पाँच सयको हाराहारीमा भए पनि हाल दरबन्दीमा जम्मा आठ सय कर्मचारी छन्, उक्त दरबन्दीले अस्पताल सञ्चालनमा समस्या हुँदै गएको छ’, उनी भन्छन्।
टिचिङ अस्पतालमा स्थापनाको समयमा छ सय १५ जनाको दरबन्दी रहेको थियो। अहिले दरबन्दी बढेर एक हजार पाँच सय हाराहारी पुगे पनि दरबन्दीमा भने सो सङ्ख्यामा मात्र कर्मचारी कार्यरत छन्। दरबन्दीबाहेक आन्तरिक व्यवस्थापनमार्फत करारमा एक हजार छ सय ७५ कर्मचारी कार्यरत छन्।
त्रिवि शिक्षण अस्पताल सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयले वार्षिक रु ३३ करोड दिँदै आएको छ। कर्मचारी धेरै हुँदा त्रिविले दिने उक्त रकम कर्मचारीलाई तीन महिना पनि तलबभत्ता दिन नपुग्ने गरेको बताइन्छ। ‘झन्डै दुई हजार पाँच सय कर्मचारीलाई तलब र भत्ताका लागि मासिक रु १२ करोड खर्च हुँदै आएको छ, त्रिविले दिएको पैसा त तीन महिनालाई पनि तलब खुवाउन पुग्दैन’, कार्यकारी निर्देशक काफ्ले भन्छन्।
टिचिङले दैनिक गरेको आम्दानीले कर्मचारी तलबभत्तादेखि सामान खरिदमा खर्च हुँदै आएको छ। अहिले टिचिङ अस्पतालमा दुई हजार चार सय ७५ डाक्टर, नर्स तथा कर्मचारी कार्यरत छन्। टिचिङमा क्यान्सर, किड्नी, स्पाइनल इन्जुरी, अल्जाइमरलगायत रोगको समेत उपचार हुँदै आएको छ।
गत पुस २७ गते पृथ्वीजयन्तीमा सार्वजनिक बिदा रहेको दिन त्रिवि शिक्षण अस्पतालमा बहिरङ्गतर्फ एक हजार नौ सय २३ बिरामीले स्वास्थ्य सेवा लिएका थिए। यस्तै इमर्जेन्सीमा (बच्चा र लेवर रुमसहित) एक सय २४, भर्ना छ सय २४, एक्स–रे तीन सय ८०, अल्ट्रासाउन्ड दुई सय ७९, ल्याबमा एक हजार ६३ ले सेवा लिएको अस्पतालका सूचना अधिकारी रामबिक्रम अधिकारी बताउँछन्।
सोही दिन त्रिवि शिक्षण अस्पतालमा ५३ जनाको शल्यक्रिया भएको थियो भने ७७ जना डिस्चार्ज भएका थिए। यस्तै डाइलोसिस ७०, सिटी स्यान ६८, आईसीयूमा ५३, एचडीयुमा ६१ र डेलिभरी ११ जना भएका थिए। सोही दिन तीनजना बिरामीको ज्यान गएको थियो। बिदाको दिनमा समेत यति धेरै सेवा प्रदान गर्ने त्रिवि शिक्षण अस्पतालले बिदा नभएको दिनमा भने यसभन्दा धेरै बिरामीलाई सेवा प्रदान गर्दै आइरहेको अस्पतालका कार्यकारी निर्देशक बताउँछन्।
त्रिवि शिक्षण अस्पतालले यही वर्षदेखि एक सय ४० शय्याको ‘सुरेश वाग्ले क्यान्सर सेन्टर’ समेत सञ्चालनमा ल्याएको छ। क्यान्सर पीडित बिरामीलाई विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले ५५ करोड रुपैयाँ लागतमा उक्त सेन्टर सञ्चालनमा ल्याइएको हो।
उक्त सेन्टर सञ्चालनमा आएसँगै त्रिवि शिक्षण अस्पताल नौ सय ७० शय्याको अस्पताल बनेको छ। सेन्टरमा २५ शय्याको क्यान्सर वार्ड, २० शय्याको आईसीयू, ३० शय्याको एचडीयु र १५ शय्याको डे केयर केमोथेरापी रहेको छ। नयाँ बनेको क्यान्सर सेन्टरलाई पूर्ण रुपमा सञ्चालन गर्न दुई सय ४१ जनाको दरबन्दी माग गरिएको कार्यकारी निर्देशक काफ्ले बताउँछन्।