विद्यादेवी भण्डारीलाई तेहर्‍याएर राष्ट्रपति बनाउन सम्भव छ? कानूनी छिद्र खाेज्दै ओली

राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल सकिँदैछ। उनी फागुन अन्तिममा शीतल निवासबाट बाहिरिँदै छिन्। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनेसँगै निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन मिति तोक्दैछ।

सातदलीय सत्ता गठबन्धनबाट नेकपा (एमाले)ले नयाँ राष्ट्रपतिमा दाबी गरेको छ। स्रोतका अनुसार एमालेभित्र हालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि तेहर्‍याउन कानूनी छिद्रको खोजी गरिँदैछ। भण्डारीको पहिलो दुई वर्षे कार्यकाललाई संक्रमणकालिन कार्यकालका रुपमा व्याख्या गरेर फेरि पनि भण्डारीलाई निरन्तरता दिने प्रयास भइरहेको छ। तर, राष्ट्रपति भण्डारीले दुई कार्यकाल पूरा गरिसकेको दाबी गर्दै फेरि राष्ट्रपति पदको उम्मेदवार बन्न नमिल्ने एमालेनिकट एक कानून व्यवसायीयले बताएका छन्।

दुईतिहाइको फाइदा उठाएर संविधान संशोधन गरेर भण्डारीलाई तेहर्‍याएर राष्ट्रपति बनाउन अनेकाैं उपाय खाेजिएकै छ। तर नेकपा एससँग मिल्दा सबभन्दा ठूलो पार्टी बन्ने र चाहेअनुसार १७६ संख्या कटाएर संविधानलाई आफूअनुकूल हेरफेर गर्न सकिने दुई ठूला सुविधा एमाले अध्यक्ष ओलीको हातमा छ।

संविधानतः एक व्यक्तिले दुई कार्यकालसम्म राष्ट्रपति हुन पाउने व्यवस्था संशोधन गरी पहिले कार्यकाल दुईवर्षको र प्रतिनिधिसभाका सदस्यहरूले मात्रै छानेको भन्ने नाममा तीन कार्यकाल कायम गर्ने कोसिस नहोला भन्न सकिने अवस्था छैन। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अघिपछि फागुन अन्तिमतिर हुने भएसँगै सामान्यतया माघ लागेपछि मिति तय गर्दा हुन्छ। त्यसअघि यदि सरकारले चाहने हो भने संविधान संशोधन पनि हुनसक्छ तर प्रक्रिया लामो छ।

एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो रुचिको पात्रलाई नै शीतल निवासमा राख्न चाहन्छन्। त्यस्ता व्यक्तित्व उनको पार्टीभित्र नभएका हैनन्। तर, पदमा पुगेपछि कसले कतिबेला धोका दिन्छ भन्ने कुराको टुंगो नहुने जमानामा जोसुकैलाई विश्वास गरिहाल्ने पक्षमा उनी छैनन्। 

सत्ता गठबन्धनको पहिलो शक्ति एमालेबाट राष्ट्रपतिका लागि दर्जनौँ आकांक्षी देखिएका छन्। स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा ‘बादल’, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, पूर्वअध्यक्ष अमृतकुमार बोहोरा र सचिव छविलाल विश्वकर्माको चर्चा छ।

प्रकाशित मिति: : 2023-01-08 08:29:00

प्रतिकृया दिनुहोस्