पोखरामा अन्तराष्ट्रिय विमानस्थल सन्चालनमा आएसँगै पोखराको ब्राण्डका रूपमा रहेको प्याराग्लाइडिङ उडान पनि स्थानान्तरण भएको छ।
यसअघि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङ उडान ५ किलोमिटर पर मान्द्रेढुंगामा सारिएको हो।
सराङकोटबाट मान्द्रेढुंगामा सारिएको प्याराग्लाइडिङको अहिले परीक्षण उडान चलिरहेको छ।
अन्तराष्ट्रिय उडान हुने रुटको वरिपरी उड्न नमिल्ने भएपछि स्थानान्तरण गरिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।
प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले अहिले मान्द्रेढुंगाबाट परीक्षण उडान गरिएको र त्यहाँबाट पनि सम्भव नभए पोखराबाटै हटाउनुपर्ने अवस्था आउने बताए।
‘जहाजको सुरक्षा पहिलो सर्त हो। उडान नै अप्ठ्यारोमा पर्ने गरी प्याराग्लाइडिङलाई आकाश छोड्न सकिँदैन,’ उनले भने, ‘सकेसम्म पोखराबाट प्याराग्लाइडिङ नहटाऔं भनेर मान्द्रेढुंगा सारेका छौं। परीक्षण गर्दा त्यहाँ पनि राम्रो नभए दुखका साथ हटाउनुपर्छ।’
यसअघि सराङकोट सहित तोरिपानी र तामागी क्षेत्रबाट पनि उडान हुने गरेको थियो। ति तीनै ठाउँबाट अब उडान गर्न नमिल्ने भएको छ।
मान्द्रेढुंगाबाट उडेको प्याराग्लाइडिङ फेवातालको सिरान पामेमा अवतरण गरिएको छ। नेपाल हवाई खेलकुद संस्थाका अनुसार प्राधिकरणले ६ हजार फिट भन्दा माथि उड्न नपाउने गरि मापदण्ड तोकिदिएको छ।