लुम्बिनी प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजे भित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्।
प्रदेश सभामा कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा सो समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न प्रदेश प्रमुख शेरचनले आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग सरकार गठनका लागि पर्याप्त बहुमत अर्थात ५२ सांसद छन्।
लुम्बिनीमा एमाले र माओवादी केन्द्र दुबैले मुख्यमन्त्रीका लागि दाबी गरिरहेका छन्। एमालेबाट मुख्यमन्त्रीको दाबी गर्दै संसदीय दलको नेतामा रूपन्देहीका लीला गिरी र माओवादीबाट मुख्यमन्त्रीको दाबी गर्दै रोल्पाका जोखबहादुर महरा दलको नेतामा चयन भएका छन्।