२७ वर्षीय नर्सलाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगरका हस्पिटल सञ्चालक पक्राउ परेका छन्।
जबरजस्ती करणी मुद्दामा विराटनगरस्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लिका सञ्चालक ३३ वर्षीय दिवाकर यादवलाई पक्राउ गरिएको हो।
यादवविरुद्ध ती नर्सले जबरजस्ती करणीमा जाहेरी दिएको चार महिनापछि पक्राउ गरिएको हो। सुनसरीको औरावनी घर भएका अस्पताल सञ्चालक यादव विराटनगर २ मा बस्दै आएका थिए। आफूविरुद्ध जाहेरी परेपछि यादव फरार थिए।
नर्सले यादवविरुद्ध भदौ २१ गते दिउँसो विराटनगरस्थित डेरामा जबरजस्ती करणी गरी कुटपिट गरेको जाहेरी दिएकी थिइन्।
मोरङ प्रहरीका अनुसार यादवविरुद्ध आइतबार मोरङ अदालतमा जबरजस्ती करणीमा म्याद थप गरी अनुसन्धान सुरु भएको छ। आफूलाई विभिन्न धाक धम्की दिएर यादवले कुटपिट गरी पटक पटक बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ।