एमालेबाट राष्ट्रपतिमा ‘बादल’को चर्चा !

राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल सकिँदैछ। उनी फागुन अन्तिममा शीतल निवासबाट बाहिरिँदै छिन्।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनेसँगै निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन मिति तोक्दैछ।

सातदलीय गठबन्धनको तर्फबाट एमालेले नयाँ राष्ट्रपतिमा दाबी गरेको छ। स्रोतका अनुसार एमालेभित्र हालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि दोहोर्‍याउन कानूनी छिद्रको खोजी गरिँदैछ।

भण्डारीको पहिलो दुई वर्षे कार्यकाललाई संक्रमणकालिन कार्यकालका रुपमा व्याख्या गरेर फेरि पनि भण्डारीलाई निरन्तरता दिने प्रयास भइरहेको छ। तर, राष्ट्रपति भण्डारीले दुई कार्यकाल पूरा गरिसकेको दाबी गर्दै फेरि राष्ट्रपति पदको उम्मेदवार बन्न नमिल्ने एमालेनिकट एक कानून व्यवसायीयले बताएका छन्।

सत्ता गठबन्धनको पहिलो शक्ति एमालेबाट राष्ट्रपतिका लागि दर्जनौँ आकांक्षी देखिएका छन्। 

स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा ‘बादल’, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, पूर्वअध्यक्ष अमृतकुमार बोहोरा र सचिव छविलाल विश्वकर्माको चर्चा छ। 

यीमध्ये पूर्वउपप्रधानमन्त्री पोखरेल काठमाडौं– ५ बाट पराजित नेता हुन्। शाक्य, थापा, ज्ञवाली, बडाल र बोहोरा चुवानी मैदानमा उत्रिएनन्। नेम्वाङ र विश्वकर्मा प्रतिनिधिसभा सदस्य छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वमुख्यमन्त्री शाक्य र पूर्वसभामुख नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाउन सक्ने अनुमान गरिएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले ‘शाक्य–नेम्वाङ’का सन्दर्भमा फरक मत राखेका छन्। चुनाव लड्न डराएकी शाक्य र इलामबाट निर्वाचित नेम्बाङलाई पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने उनीहरूको जिकिर छ।

आम मिडिया र सामाजिक सञ्जालमा गुमनामजस्तै देखिएका उपाध्यक्ष थापाको राष्ट्रपतिबारे एकाएक चर्चा चुलिएको छ। खासगरी एमालेनिकट आदिवासी–जनजाति संगठनभित्र थापालाई राष्ट्रपति बनाउनुपर्ने माग उठिरहेको छ।

स्रोतका अनुसार उपाध्यक्ष सुवास नेम्बाङ, उपमहासचिव पृथ्वीसुब्बा र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले थापालाई राष्ट्रपति पदको उम्मेदवार बनाउन सकिने अध्यक्ष ओलीलाई राय दिएका छन्। त्यसो त एमालेका अधिकांश पदाधिकारीहरूले थापाको राजनीतिक स्वभावका कारण राष्ट्रपति पद सुहाउने बताउँदै आएका छन्।

दश वर्षे जनयुद्धकालदेखि शान्ति प्रक्रिया छेउछाउसम्म उनी तत्कालीन ‘सुप्रिमो’ प्रचण्डनिकट मानिन्थे। प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा उनले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। 

शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउने क्रममा थापाले प्रचण्डसँग फरक मत राख्दै अर्का चर्चित नेता मोहन बैद्य ‘किरण’को समूहतिर लागे। लगतै उनी वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’प्रति असन्तुष्टि जनाउँदै मूलधारमा फर्किए। 

राष्ट्रिय राजनीतिको पर्दाभित्र रहेर पनि महत्वपूर्ण भूमिका निभाउन सक्ने उनी प्रचण्डलाई पार्टी वा सरकारमा अप्ठेरो गर्दा सधै सारथि बन्थे। नेकपा (एमाले) र नेकपा (माअ‍ोवादी केन्द्र)को एकता भइ बनेको नेकपाभित्र पनि उनी सधै निर्णायक नै रहे। 

नेकपाभित्र अन्तरसंघर्ष हुँदै गर्दा उनी तत्कालीन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिए। त्यो बेलादेखि ओली र एमालेको साथमा रहेका थापालाई चितवन महाधिवेशनबाट उपाध्यक्ष बनाइएको छ। उनै थापालाई राष्ट्रपति पदको उम्मेदवार बनाउनका लागि एमाले पदाधिकारीदेखि ओलीनिकट नेताहरू बालकोट दौडिरहेका छन्।

प्रकाशित मिति: : 2023-01-04 09:55:00

प्रतिकृया दिनुहोस्