प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष तथा  रिक्त एक सदस्यको चुनावबारे प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच  छलफल भएको थियो।

राष्ट्रिय सभामा गत फागुनदेखि उपाध्यक्ष पद खाली रहेको छ भने एमालेको तर्फबाट सदस्य रहनुभएका खिमलाल भट्टराईले राजिनामा दिएपछि लुम्बिनी प्रदेशबाट एक पद रिक्त रहेको छ।

भेटका क्रममा राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पेश भइ निष्क्रिय भएका पाँचवटा विधयेकलाई पुन: राष्ट्रिय सभामै दर्ता गरी अगाडि बढाउन अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

राष्ट्रिय सभामा उत्पति भइ लामो छलफलपछि पारित भएर प्रतिनिधि सभामा गएका विभिन्न पाँच विधयेक प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निष्क्रिय भएका थिए।

त्यसरी निष्क्रिय भएका नेपाल मिडिया काउन्सिल विधेयक, नीति अनुसन्धान विधेयक, नेपाल विशेष सेवा विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक रहेका छन्।  

 त्यसैगरी प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष तिमिल्सिनाले मुस्ताङको काेरला नाकामा नेपालतर्फ भन्सार कार्यालय निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन  गरी पूर्वाधार निर्माण कार्य अगाडि बढाउन आग्रह गरेका थिए। 

कोरला नाकामा चीनतर्फ पूर्वाधार निर्माण भएपनि नेपालतर्फ पूर्वाधार नबन्दा नाका सञ्चालनमा आउन सकेको छैन।

प्रकाशित मिति: : 2023-01-03 20:55:00

प्रतिकृया दिनुहोस्