रोल्पाको रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले पदीय दुरुपयोग गरि कर्मचारीलाई आफ्नी छोरीकाे दोस्रो जन्मदर्ता बनाउन दबाब दिएकाे खुलेको छ। उनले छोरीकाे पहिलाे जन्मदर्ता नबनाएकाे भन्दै वडा कार्यालयलाई झुक्याएर दोस्राे जन्मदर्ता बनाउन लगाएका हुन्।
दोस्रो जन्मदर्ता त्यसमा पनि जन्म मिति नै फरक पारेर लिएको खुलेपछि रुन्टिगढी गाउँपालिका–७ का सचिव लालबहादुर केसीले समाजिक सञ्जाल फेसबुकमार्फत् गाउँपालिका अध्यक्षले आफूलाई झुक्याउन खाेजेकाे गुनासाे गरेका छन्। गाउँपालिका अध्यक्ष पुनको किर्ते कामको उनले विरोध पनि गरेका छन्।
सचिव केसीले गाउँपालिका अध्यक्षले नै गतल सूचना दिएर झुक्याएर फसाउने नियतले गैरकानुनी काम गरेकोे दाबी गरेका छन्।
उनले लेखेका छन्, ‘पालिका अध्यक्ष (जनक पुन) जस्तो जिम्मेवार व्यक्तिबाट नै गलत सूचना दिएर झुक्याएर फसाउने नियले कानुनमा मै नभएको कुरालाई काम गराइन्छ भने अब हामी वडा सचिव तथा अरु कर्मचारीहरुले कस्को विश्वास मान्ने त? जयहोस छोटे राजाको देश।’
सचिव केसीका अनुसार गाउँपालिका अध्यक्ष पुनकी छोरीले दुई वर्ष जन्म मिति परिवर्तन गरेको बताएका छन्।
‘उहाँकी छोरी जन्मदर्ता बनाउन आउनुभयो, मैले आजसम्म जन्मदर्ता बनाएको छैन भन्दै सोधेको पनि हो,’ उनले भने, ‘तर उहाँले बनाएको छैन भन्नुभयो। मैले जन्मदर्ता बनाइदिए।’
जन्मदर्ता बनाइसकेपछि गाउँपालिका अध्यक्षकी छोरीले दोस्रो पटक जन्मदर्ता बनाएको खुलेको केसीले बताएका छन्।
गाउँपालिका अध्यक्ष पुनले छोरीको पहिले बनाएको जन्मदर्ता हराएको र पछि बनाउँदा जन्ममिति फरक परेको जानकारी दिएका छन्।
‘पहिले बनाएको जन्मदर्ता हराएछ। फेरि बनाउँदा जन्म मिति फरक परेछ,’ उनले भने, ‘अहिले जन्मदर्ता बनाएको दर्ता रेकर्ड हेर्दा पहिले बनाएको मिति कायम गरेर जन्मदर्ता लिएका छौँ।’ गाउँपालिका अध्यक्ष पुनले कुनै झुक्याउने नियत नभएको बताएका छन्।