अर्थतन्त्र सुधारमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा उनले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताए।

प्रधानमन्त्री दाहालले भने,‘मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। ब्याजदर वृद्धि, तरलता समस्यालगायत विषयमा सरकार जानकार छ। अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित भएको छ।’

उनले अर्थतन्त्रको वर्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्री दाहालले भने,‘सामूहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको सङ्कटलाई जोगाउने दायित्व सबैको हो। सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ।’

सो अवसरमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विद्यमान आर्थिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर एवं तरलता अभावका कारण लगानीको वातवरण बन्न नसकेको उनले बताए।

उनले भने,‘दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्न एकल अङ्कको ब्याजदर कायम गरिनुपर्दछ। दिगो आर्थिक विकास र स्थायित्वका लागि लगानीको वातावरण बन्न आवश्यक छ।’ चेम्बरले सरकारलाई आठबुँदे सुझावसमेत दिएको छ।

प्रकाशित मिति: : 2022-12-28 17:44:00

प्रतिकृया दिनुहोस्