प्रचण्डकाे छतमा ‘सुन्तले वार्ता’, माधव नेपाललाई फकाउँदै दाेस्राे तहका नेता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खुमलटारमा वार्ता जारी छ।

२ वर्ष ९ दिनपछि प्रचण्ड निवासमा पुगेका ओली र प्रचण्डले सुन्तला खाँदै वार्ता गरिरहेकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल छ। याे भेटवार्तालाई नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा सहभागी गराउनकाे लागि गरिएकाे निर्णायक वार्ता रहेका नेताहरुले बताइरहेका छन्।

यसअघि बिहान मात्रै अध्यक्ष प्रचण्ड र नेपालबीच वार्ता भएकाे थियाे। भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव राखेका थिए। नेपाल र प्रचण्डबीचकाे वार्ता सकिएलगत्तै प्रचण्ड र ओलीबीच वार्ता सुरु भएकाे थियाे। यही नै बेला माधव नेपालकाे घरमा एमाले र माओवादीका दाेस्राे तहका नेताहरु पुगेका छन्।

ओली–प्रचण्डबीच ‘सुन्तले वार्ता’ चलिरहेका बेला एमाले नेता महेश बस्नेत माधव नेपाल निवास काेटेश्वरमा पुगेका थिए। भेटका क्रममा नेता बस्नेतले नेपाललाई एमाले फर्किन आग्रह गरेका थिए। भेटवार्तामा नेता मेटमणि चाैधरी पनि सहभागी थिए। उनीहरुले वाम एकताबारे छलफल गरेका थिए।

त्यस्तै महेश बस्नेत बाहिरिएसँगै माओवादी नेताहरुसहितकाे टाेली माधव नेपालकाे घरमा पुगेका छन्। टोलीमा जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, उपप्रधानमन्त्री तथा माओवादीका नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरु छन्। उनीहरुले अध्यक्ष नेपालसँग अहिले भेटवार्ता जारी छ।

वाम एकताकाे चर्चा चलिरहेका बेला याे रस्साकस्सीलाई अर्थपूर्ण मानिएकाे छ।

प्रकाशित मिति: : 2022-12-28 13:50:00

प्रतिकृया दिनुहोस्