दोस्रोपटक चुनाव जितेर पहिलोपटक मन्त्री बनेका राजेन्द्र राई को हुन् ?

File Photo
File Photo

पूवी पहाडी जिल्ला धनकुटामा दोस्रो पटक एमालेलाई क्लिन स्विप गराएका राजेन्द्रकुमार राई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेका छन्। एमालेबाट पहिलो पटक मन्त्री भए पनि उनको मन्त्रालय टुंगो लागेको छैन।

२०४३ सालदेखि सक्रिय राजनीतिमा लागेका राई २०७० को दोस्रो संविधानसभा निर्वाचनदेखि चुनावमा सहभागी हुँदै आएका छन्। त्यसबेला भने उनी पराजित भएका थिए।

०७४ र ०७९ को निर्वाचनमा भने उनले धनकुटाबाट चुनाव जिते। दुवै निर्वाचनमा राईले कांग्रेस उम्मेदवार सुनिलकुमार थापालाई पराजित गरेका हुन्। यसपटक सत्ता गठबन्धनबाट कांग्रेसको उम्मेदवार बनेका थापा ०७४ मा भने कांग्रेसको समर्थनमा राप्रपाका उम्मेदवार थिए।

राजेन्द्र राई २०४९ सालमा तत्कालीन जिल्ला विकास समितिको सदस्यबाट जनप्रतिनिधिमा निर्वाचित भएका थिए। २०५४ मा जिविसको उपसभापतिमा निर्वाचित भए।

५७ वर्षीय राईको जन्म २०२२ साल भदौ २९ गते धनकुटाको तत्कालीन मुगा गाउँ पञ्चायतमा भएको हो। विद्यालयकालदेखि नै उनी अनेरास्ववियुमा संगठित भएका थिए।

अनेरास्ववियुको पाँचौ राष्ट्रिय सम्मेलनमा राई देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधिका रुपमा सहभागी भएका थिए। त्यतिबेला उनी आठ कक्षामा पढ्थे। सानै उमेरदेखि राजनीतिमा होमिएका राई २०४७ सालमा अनेरास्ववियुको धनकुटा जिल्ला अध्यक्ष बने।

२०७४ को निर्वाचनपश्चता एमाले र माओवादी मिलेर बनेको नेकपाको उनी धनकुटा जिल्ला अध्यक्ष थिए। नेकपा विभाजनपछि उनले धनकुटामा एमालेको जिल्ला अध्यक्ष भएर काम गरे। एमालेको दशैँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सलस्यमा निर्वाचित भएका राईले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन्।

प्रकाशित मिति: : 2022-12-28 15:40:00

प्रतिकृया दिनुहोस्