राजधानी काठमाडौँलगायत देशभरका मुख्य सहरमा ‘क्रिसमस डे’ मनाइएको छ। मुख्य सहरमा क्रिसमसमा विशेषगरी युवायुवती बढी रमाएको देखिन्थ्यो।
इसाई धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा डिसेम्बर २५ का दिन यस समुदायका मानिसले क्रिसमस डे मनाउँछन्। आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए। उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा इसाई समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन्।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो।
दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने इसाई धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। विसं २०७८ देखि फेरि यस अवसरमा सार्वजनिक बिदा दिन थालिएको छ।
हाल नेपालमा ३० लाख इसाई धर्मावलम्बी रहेको महासङ्घको दाबी छ। तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ। महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव २०७९ आयोजना गरियो।
पछिल्ला वर्षमा मुख्य सहरका प्रमुख स्थल क्रिसमस ट्री सजाउने गरेको देखिन्छ। विशेषगरी इसाई समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको हुन्छ। विगतका दुई वर्र्ष कोरोना महामारीका कारण क्रिसमसमा चहलपहल कम भएको थियो। यस वर्ष भने पर्यटक आउने क्रम सुरु भएकाले पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ।
धेरै नेपाली पनि विना मास्क भीडभाड गरेको देखिन्थ्यो। शनिबार साँझदेखि नै युवायुवतीको समूह क्रिसमस मनाउन विभिन्न स्थानमा जम्मा भएका थिए। राजधानीको ट्राफिक जाम र भीडभाडले पनि क्रिसमसले धेरैको ध्यान खिचेको देखिन्थ्यो। छिमेकी देशमा नयाँ भेरियन्टसहितको कोरोना महामारी बढेकाले सरकारले भने स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको थियो।