धनगढीमा दिनदहाडै चल्यो गोली

कैलालीको धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान गोली चलेको छ।चोरी गर्न आएको टाेली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात गाेली चलेकाे हाे।

गोली मानिसलाई भने नलागेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार धनगढी-९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियार धारी समुहलाई गाउँलेले लखेटेका थिए।

गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

चोर र स्थानीयबीच भएको मुडमेडमा स्थानीय प्रजापति विष्ट सामान्य घाइते भएका छन्। उनको कम्मरमा सामान्य चोट लागेको प्रहरी प्रवक्ता जोशीले बताए। घरमा लुटपाट गर्न आएका लुटेरासँग प्रतिकार गर्न खोज्दा विष्ट घाइते भएका हुन्। 

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लगेको छ। उनमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले गोलीका खोकाहरू समेत बरामद गरेको छ।

प्रकाशित मिति: : 2022-12-20 13:11:00

प्रतिकृया दिनुहोस्