रानीवनमा दोस्रो नेवाः खाना (यःमरी) महोत्सव (तस्बिरहरु)

तस्बिरः सञ्जीव गुरुङ र सुरेन्द्र राना ‘घुमफिरे’
तस्बिरः सञ्जीव गुरुङ र सुरेन्द्र राना ‘घुमफिरे’

य:मरी पुन्हीको शुभ अवसरमा झिगु नेवाः दबु नागर्जुनद्वारा सनिबारको दिन दोस्रो नेवाः खाना महोत्सव आयोजना गरिएको छ।

नागार्जुन नगरपालिका- १, रानीवनमा आयोजना गरिएको एकदिने खाना महोत्सवमा यःमरी परिकारको स्टल राखिएको थियो। झिगु नेवाः दबु उपाध्यक्ष चम्पा श्रेष्ठले यःमरी पुन्हीको उपलक्षयमा स्थानियवासीलाई शुभकामना साटसाट गर्नुका साथै यःमरी चाख्नलाई कार्यक्रम आयोजना गरिएको बताए।

त्यस्तै भाइराजा महर्जनले नेवारी समुदायले विभिन्न चाड पर्वमा बनाउने सयौँ परिकारमध्ये यहाँ ३-४ थरी मात्रै राखिएको बताए। नेवाः खाना महोत्सव कुनै व्यापारिक प्रायोजन नभएर नेवारी समुदायको खानाको संस्कृति झल्काउन र प्रवर्धन गरिएको उनले बताएका थिए।

गत साल पनि नेवाःदबुलाई उक्त कार्यक्रम आयोजना गरिएको थियो। महोत्सवमा सयौँ स्थानीयको सहभागीता थियो।

स्थानीय नेवार महिलाहरुले बनाएका यः मरी (खुवा र चाकु) प्रमुख आकर्षण थियो। नेवारी भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी। यःमरी पुन्हीका दिन गृहणीले शुद्ध भएर चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक, खुवा मिसाएर यःमरी बनाउने चलन रहेको छ।

दसैं तिहारपछि विस्तारै जाडो सुरु हुन्छ। पुस लाग्दा जाडोको मात्रा पनि बढ्दै जान्छ। यः मरीले चिसोबाट बच्न शरीरलाई चाहिने ऊर्जा र ताप प्रदान गर्छ।

यः मरीको उच्च माग हुँदा महिलालाई बनाउन भ्याइनभ्याइ थियो भने कुपन लिएर मानिसहरु घण्टौँ लाइनमा बसेका थिए। यःमरी (खुवा)को मूल्य रू. ५० र चाकुको रू. ५० राखिएको थियो। अन्य नेवारी खानाको परिकारमा नेवारी खाजा सेट रू. १५०, बफ छोयला र चिकेन छोयला प्रतिप्लेट रू. ७० मुल्य राखिएको थियो।

नेवार समुदायले प्रत्यक वर्ष धान्य पूर्णिमाको दिन ज्यापु दिवस तथा योमरी पूर्णिमा मनाउने गर्छन। उक्त दिवसमा नेवार समुदायहरु आफ्ना परम्परागत भेषभूषामा सजिन्छन। चामलको पिठो, खुवा र चाकुले बनेको यःमरी र थरी थरीका नेवार परिकार सेवन गर्छन। बाजागाजासहित नेवार समुदायका व्यक्तिहरु नगर क्षेत्र परिक्रमा गर्दै हर्षोल्लासका साथ प्रत्यक वर्ष यःमरी पर्व मनाउने गरिन्छ।

प्रकाशित मिति: : 2022-12-18 16:46:00

प्रतिकृया दिनुहोस्