कर्णाली: पूर्णबहादुर, मुख्यमन्त्री र राजीव विक्रम

नेपाली कांग्रेस प्रत्यक्ष र समानुपातिक गरेर १४ सिट ल्याउँदै कर्णाली प्रदेशसभामा पहिलो दल बनेको छ। पहिलो दल बनेको कारण सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्छ भन्रे दाबी स्वाभाविक हाे।

कर्णाली प्रदेशको मुख्यमन्त्री को बन्ने भन्ने दौड सुरु भएको छ। देशभरी मतदाताले दिएको सन्देश नेतृत्व परिवर्तनको पक्षमा रहेको निर्वाचनले स्पष्ट बनाइसकेको छ।

नेपाली कांग्रेसभित्र जसरी संघमा शेरबहादुर देउवाको विकल्प खोजी भइरहेको छ। त्यसैगरी कर्णालीमा पनि बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाहीको विकल्प खोजी भइरहेको थियो। यही बीचमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य राजीव विक्रम शाहले कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेसँगै युवाहरू उत्साहित भएका छन्।

जाजरकोटको प्रदेश ‘ख’ बाट फराकिलो मतान्तरसहित शाह विजय भएका छन्। शाह १६ हजार ४० मतसहित प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।

समाजसेवी नेताको छवि बनाएका शाह कर्णाली प्रदेशमा लोकप्रिय नेता हुन्। उनलाई युवाहरूले संसदीय दलको नेता बनाउन दबाब बढाएका छन्। पार्टीका शीर्ष नेतृत्वलाई टेलिफोन, म्यासेज गरेर यसपटक कर्णालीमा नयाँ मुख्यमन्त्री बनाउन आग्रह गरिरहेका छन्।

इमानदार, लोकतान्त्रिक, सदाचारयुक्त र दृढ संकल्प बोकेका नेता राजीव विक्रम शाह भएको कारण उनलाई यसपटक मौका दिनुपर्नेमा कर्णालीका युवाहरू एकमत भएका छन्।

सामाजिक सञ्जालमा कर्णालीका युवाहरूले ‘पार्टीको गुट/नेताको डर र सीमित स्वार्थको घेरा भत्काएर शाहलाई संसदीय दलको नेतामा सर्वस्वीकार्य बनाउन सबै जुटौं। जय नेपाल’ भन्दै अभियान चलाएका छन्।

राजीव शाहका दर्जन कदम, जसले उनलाई लोकप्रिय बनायो।

२०६६/०६७ सालको झाडापखाला

२०६६ सालमा जाजरकोटमा झाडापखालाले ठुलो महामारीको रुप लियो। हजारौं मान्छे झाडापखालाले सिकिस्त भए भने दुई सयभन्दा बढीको मृत्यु भयो। संकटको घडीमा शाह आफैंले बाटोको पहुँच नभएको कारण हेलिकप्टरमार्फत स्वाथ्यकर्मी र औषधि लिएर सेवा गरेका थिए। त्यसबेला गरेको सेवाले शाहलाई एउटा आशाको रूपमा स्थापित गर्यो।

अस्पताल निर्माणको सुरुवात

गाउँ बस्तीहरुमा स्वास्थ्य सेवाको अभावमा सामान्य उपचार गर्न सुर्खेत, नेपालगन्ज जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने संकल्पसहित राजीव विक्रम शाहले व्यक्तिगत लगानीमा जाजरकोटको दुर्गम गाउँमा २५ शैय्याको अस्पताल निर्माण थाल्नुभएको छ। कुमारी ट्रस्टमार्फत ५ करोड रुपैयाँको लगानीमा छेडागाड नगरपालिका-५ थल बजारमा अस्पताल निर्माण थाल्नुभएको हो।

राज्यले नसकेको ठाउँमा जनताको सेवाको लागि अस्पताल निर्माण कार्य सुरुवात गर्ने कुराले राजीव जनताका आधारभुत समस्या समाधान गर्न चाहन्छन् भन्ने सन्देश सबैतिर छ। शाहको विशेष सहयोगमा जाजरकोट जिल्ला अस्पतालमा निःशुल्क एम्बुलेन्स सेवा पनि चलिरहेको छ।

दुर्घटनामा राहत

छिन्चु-जाजरकोट-डोल्पा सडकखण्डमा भएका ठुला यातायात दुर्घटनामा राजीवले राहत तथा उद्धार गर्दै आएका छन्। दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई राहत उपलब्ध गराउँदै आएका शाहले उपचार तथा टुहुरा बालबालिकालाई पढाइ दिने काम पनि गरेका छन्। भर्खरै मात्र जाजरकोटको छेडागाड भएकाे जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा शाहकै अनुरोधमा माइती नेपालले लिने भएको छ।

आवास निर्माणमा सहयोग

कर्णालीका विभिन्न गाउँ बस्तीहरुको भ्रमण गर्दा छाना चुहिनेदेखि जीर्ण अवस्थामा रहेका जनताका घरहरू मर्मतका लागि शाहले सहयोग गर्नेदेखि सबै गाउँका मानिसहरूलाई पुनर्निर्माणका लागि आ-आफ्नो तबरले  सहयोग गर्ने वातावरण बनाउँदै आएका छन्।

कोभिडमा मलम

कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका कर्णाली प्रदेशका अस्पताल र जिल्ला अस्पतालहरूका लागि एक करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर महामारीको संकटबाट गुज्रिएको कर्णालीलाई मलम लगाउने काम गरेका थिए।

प्रदेश अस्पताल सुर्खेतमा ५ वटा आइसीयु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिटरलगाएतका ८० लाख बराबरको स्वास्थ्य सामग्रीका साथै कर्णाली प्रदेशका अन्य जिल्ला अस्पतालमा ३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए।

तीव्र र दिगो विकासको पैरवी

राजीवले तीव्र र दिगो विकासको पैरवी गर्दै आएका छन्। पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीले जनतालाई कष्ट पर्ने भन्दै राज्य मातहतका निकायलाई ध्यानाकर्षण गराउनेदेखि समयमा काम सम्पन्न गराउन आफैँ अग्रसर हुने जस्ता कारणले राजीव जनता माझ लोकप्रिय छन्।

शाहले ठेकेदारले लापरवाही गरेर छाडेपछि १२ वर्षसम्म अलपत्र परेको जाजरकोट-डोल्पाको लाइफ लाइनका रुपमा रहेको राकमको पुल २०७० सालमा सांसद भएपछि ठेकेदारलाई बोलाएर त्यहाँ देखिएका समस्याका विषयमा समन्वय गरेर ९ महिनाभित्र सम्पन्न गराएका थिए।

पार्टीका सर्वमान्य, बाहिर साझा नेता

नेपाली कांग्रेसभित्र ध्रुवीकरण तीव्र भइरहेको बेला राजीव शाह सन्तुलन मिलाउन सक्ने नेतामा पर्छन्। उनी गुटको आधार राजनीति नगर्ने नेताको रूपमा कांग्रेस वृत्तमा चिनिन्छन्।

कांग्रेसलाई विभाजन होइन, एकताबद्ध पार्ने अभियानमा लागेका कारण पनि पार्टीभित्र लोकप्रिय नेताकाे छवि बनाउन सफल छन्। उनी जसरी पार्टीभित्र साझा नेता छन्, बाहिर पनि सबैको प्रिय छन्। कर्णाली प्रदेशमा विपक्ष दलहरूले समेत रुचाउने पात्रमा पर्छन्, शाह।

राजीवले सांसद हुँदा आफ्नो पारिश्रमिकसमेत जाजरकोटका दुःखी, गरीब र पीडितहरुका लागि सहयोग गर्दै आएका छन्। उनी छोटो समयमा जनतासँग धेरै भिजेका छन्। शाह दलको नेता निर्वाचित भए भने कर्णाली प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने अवस्थामा उनी स्वत: मुख्यमन्त्रीको बन्नेछन्।

संसदीय दलको नेतामा रहेका जीवनबहादुर शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री छन्। उनको १६ महिने कार्यकालमा जनतालाई आश जगाउने खालको कुनै कामकारबाही भएका छैनन्। उल्टै श्रीमतीलाई प्रदेश लोकसेवा आयोग सदस्य नियुक्त गरेकोले विवादमा आए। झण्डै ४ अर्व बढी घोटाला भएको वाइडबडी विमान खरिद प्रक्रियामा उनी पनि मुछिएका थिए।

जीवनबहादुर शाही र राजीव विक्रम शाह दुवै संस्थापन पक्षका नेता हुन्। खासगरी कर्णाली प्रदेश सरकार निर्माणमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको महत्वपूर्ण भूमिका हुन्छ। दुवै नेता खड्का नजिक छन्। नेपाली राजनीतिमा खड्का सन्त नेता कृष्णप्रसाद भट्टराईका अनुयायी/उत्तराधिकारीकै रूपमा चिनिन्छन्।

कयौं पटक मन्त्री, सांसद भएर आजसम्म कतै विवादमा नमुछिएका खड्काले शाहलाई अगाडि बढाउँछन् कि विवादास्पद छवि भएका तथा सरकारकाे नेतृत्व गरेर आशा सिर्जना गर्न असफल जीवनबहादुरलाई अगाडि सार्छन् त्याे भने हेर्न बाँकी छ।

खड्काले कर्णाली प्रदेशमा संसदीय दलकाे निर्वाचनमा नेतृत्व परिवर्तनकाे पक्षमा दृढतापूवर्क उभिने अवस्था सिर्जना नभए कमसेकम स्वच्छ प्रतिस्पर्धाका वातावरण मिलाइदिउन्र भन्ने पार्टीका अधिकांश नेता तथा कार्यकर्ताले आशा बाेकेका छन्। अब खड्काले कस्ता कदम चाल्छन् भन्ने विषय भने हेर्न नै बाँकी छ।

प्रकाशित मिति: : 2022-12-18 18:15:00

प्रतिकृया दिनुहोस्