सविन फुयाँल मृत्यु प्रकरणः ५ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता

गत आइतबार काठमाडौँको तारकेश्वर नगरपालिका–३ स्थित तिनपिप्ले चिसापानीमा एक युवककाे रहस्यमयी तरिकाले मृत्यु भयाे।

युवक काम सकेर माेटसाइकलमा घर फर्किँदै थिए। माेटरसाइकमा सवाररत युवकलाई बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दियाे। उनले ज्यान गुमाए।

ज्यान गुमाएका २१ वर्षीय सविन फुँयालको टिप्परको ठक्करबाट मृत्यु भएको भनिए पनि हत्या भएको परिवारले बताएका छन्। मृतकका परिवारका अनुसार चालक, टिप्पर धनी र बालुवा डिपोका कामदार मिलेर फुँयालको हत्या गरेको हुन्। मृतकका दाजु नाता पर्ने जयराम घिमिरेले दुर्घटनापछि बालुवा लोड गर्न प्रयोग गरिने सावेलले घाँटी थिचेर हत्या गरिएको दाबी गरेका छन्।

सविनकाे मृत्युकाे भाेलिपल्ट मंसिर २६ गते सोमबार साँझ हत्यारालाई पक्राउ र कारबाहीको माग गर्दै पीडित पक्षले तीनपिप्लेस्थित प्रहरी कार्यालयमा घेराउ गरेका थिए।

समूहले आक्रोशित बन्दै प्रहरीको मोटरसाइकल तोडफोड गरे। प्रहरीले प्रर्दशनकारीहरूलाई अभद्र व्यवहार गरेकाे भन्दै पक्राउ गरि ७ जनालाई अभद्र व्यवहार मुद्दामा थुनामा राखेको छ। उहीदिन साेमबार प्रहरीले घटनामा सम्लग्न शिव बलामीलाई पक्राउ गरि अनुसन्धान थालेकाे थियाे।

‘१५ लाखकाे लोभ देखाएर हत्या स्विकार्न बाध्य बनाए’

शिव बलामीले आफूलाई टिप्पर धनीले १५ लाख नगद दिने लोभ देखाएर हत्या स्विकार्न बाध्य बनाएको बयान दिएलगतै प्रहरीले मंगलबार टिप्पर धनी बिमल बलामी पक्राउ गरे।

उक्त रात टिप्पर बिमलले नै चलाएकाे र घाइते बनाएपछि माटाे फाल्ने सावेलले घाँटी थिचेर हत्या गरेकाे मृतकका काका रामचन्द्र फुयाँलले बताए। ‘त्यसदिन टिप्पर बिमलले चलाएको रहेछ पहिला माेटरसाइकमा हानेर घाइते बनाएपछि आसपासका डिपोमा काम गर्नेहरुलाई समेत बोलाएर हत्या गरेको रहेछ।’ उनले भने।

यस्तै मृतकका मामा पर्ने श्याम गजुरेल बिमलले शिवलाई दिएकाे चेक बरामत गरेकाे बताए। ‘विमलले शिवलाई आर्थिक प्रलोभन देखाएर दिएको साढे ३ लाखको चेक भेटिएको छ। सो चेक प्रहरीले बरामद गरेको छ।’ उनले भने।

बिहिबार स्थानियले मुद्दा दर्ता गर्न माग गर्दै प्रहरी बृत बालाजु अगाडी प्रदर्शन गरेका थिए। मृतक सविन फुयाँलकाे न्यायकाे माग गर्दै प्रदर्शनमा उत्रिएका ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी दिनेश थापालाई प्रहरीले नियन्त्रणमा लिई निर्घात कुटपिट गरेको जयराम घिमिरेले बताए।

हाल सविन फुँयालको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता गरिएको छ। टिप्पर धनी बिमल बलामीसहित ५ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएकाे हाे।

प्रकाशित मिति: : 2022-12-16 15:03:00

प्रतिकृया दिनुहोस्