विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरेर बन्धक बनाई रकम असुलेको आरोपमा ३१ वर्षीय सहेन्शा सिद्धिकी भनिने अब्दुल खत्ताबलाई प्रहरीले पक्राउ गरेको छ।
खत्ताब विराटनगरबाट प्रकाशन हुँदै आएको नेपाल टाइम्स डटकमका सञ्चालक हुन्। राठी पनि उक्त कम्पनीका साझेदार हुन्।
अपहरण तथा शरीर बन्धक मुद्दामा खत्ताब पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
गत मङ्सिर १४ गते अन्तरवार्ताका लागि बोलाएर कुटपिट गरी १५ लाख रुपैयाँ असुलेको भन्दै उद्योगी राठीले खत्ताबसहित अन्य २ जना विरुद्ध प्रहरीमा उजुरी दिएका थिए।
राठीले जाहेरी दिएदेखि सम्पर्कविहीन भएका अब्दुललाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले जानकारी दिए।
पक्राउ परेका खत्ताबलाई आजै जिल्ला अदालत मोरङले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको र हाल अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए।