विवादै–विवादबीच चोलेन्द्रकाे अवकाश

File Photo
File Photo

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारबाट उमेरहदका कारण अवकाश पाएका छन्। एक वर्षयता विवाद र महाभियोगको सामना गरेका जबराले ६५ वर्षे उमेरहदका कारण मंगलबारबाट अवकाश पाएका हुन्।

‘६५ वर्षे उमेरहदका कारण उहाँ (जबरा) मंगलबारबाट अनिवार्य अवकाश पाउनु भएको छ,’ सर्वाेच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

२०१४ मंसिर २८ मा जन्मिएका जबरा ६५ वर्षे उमेरहदका कारण सेवाबाट अनिवार्य अवकाश पाएका हुन्। उनले १८ पुस २०७५ मा पद तथा गोपनीयताको शपथ लिएर प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए।

गत १ फागुनमा जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको थियो। विधिको शासन, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न नसकेको, न्यायपालिकाभित्र विकृति, विसङ्गति, भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको र रोक्न नसकेको, पदीय मर्यादा र आचरणविपरीत कार्य गरेको लगायत २१ वटा आरोपसहित जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो।

जुन प्रस्ताव प्रतिनिधिसभामा विचाराधीन छ। नयाँ संसदले उक्त प्रस्ताव स्वीकार्ने वा नस्वीकार्ने भन्नेमा दलहरुबीच मतभेद कायमै रहेका बेला जबराले अनिवार्य अवकाश पाएका हुन्।

महाभियोग प्रस्ताव दर्ता हुनुअघि जबराविरुद्ध सर्वाेच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनले आन्दोलन गरेको थियो। जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन, सर्वाेच्च अदालत बारले मात्र होइन सहकर्मी न्यायाधीशहरु समेतले आन्दोलन गरेका थिए।

लामो समय न्यायाधीश र अधिवक्ताहरुको आन्दोलन चलिरहेका बेला जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको थियो।प्रतिनिधिसभाअन्तर्गतको महाभियोग सिफारिस समितिले जबरालाई महाभियोग लगाउनुपर्ने कारणसहित प्रतिवेदन बुझाएको थियो। तर, उक्त प्रतिनिधिसभाको कार्यकाल समाप्त भयो र नयाँ प्रतिनिधिसधा गठन भएको छैन।

यस अवस्थामा आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको जबराले बताउँदै आएका छन्। सोहीअनुसार संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमबाट अघिल्लो हप्ता २१ मंसिरमा महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र लिएर सर्वाेच्च अदालत छिर्ने जबराको प्रयास असफल भयो। सर्वाेच्च अदालतले उक्त पत्र कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएपछि जबराको सर्वाेच्च फर्किने प्रयास असफल भयो।

महाभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबरा सर्वाेच्च अदालत नफर्की मंगलबार उमेरहदका कारण सेवानिवृत्त भए। जबरा निलम्बनमा परेपछि वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीशका रूपमा कार्यभार सम्हालिरहेका छन्।

प्रकाशित मिति: : 2022-12-13 16:47:00

प्रतिकृया दिनुहोस्