'चिनियाँ सेनाले विवादित सीमाक्षेत्रमा भाँचिदिए भारतीय सेनाका हातखुट्टा'

अरुणाचल प्रदेशको 'तवांग–याङ्त्से' विवादित सीमाक्षेत्रमा भारत र चीनका सैनिकबीच झडप भएको छ।

तीन दिनअघि चिनियाँ जनमुक्ति सेना (पीएलए)ले तवांग सेक्टर प्रवेश गरेपछि भारतले जबाफी कारबाही गरेको थियो। लगतै दुई पक्षबीच घण्टाैँ झडप भएको भारतीय सेना अधिकारीहरूले जनाएका छन्।

भारत र चीनका सैनिकबीच घटना भएको पुष्टि गर्दै भारतीय एक रक्षा अधिकारीले विस्तृत विवरण नदिई '२० भारतीय सैनिक घाइते' भएकाे बताएका छन्। जसमध्ये ६ जना गम्भीर छन्। उनीहरूकाे गुवाहाटीको अस्पतालमा उपचार भइरहेकाे छ।

'चिनियाँ सैनिकले हाम्रा सैनिकका हातखुट्टा भाँचिदिएका छन्। कतिपयकाे अवस्था गम्भीर छ। चिनियाँकाे तुलनामा हाम्राे पक्षको चोटपटक धेरै छ,' ती अधिकारीले भने।

भारतीय अङ्ग्रेजी पत्रिका द हिन्दूले भारतीय रक्षा अधिकारीलाई उद्धृत गर्दै तवांगमा भएको झडपमा भारतीय सैनिकभन्दा धेरै चिनियाँ सैनिक घाइते भएको जनाएको छ। 

भारतीय वरिष्ठ अधिकारीहरूले घटनाको पुष्टि गरेपनि विस्तृत विवरणबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्। स्रोतका अनुसार झडपको क्रममा लगभग ६ सय चिनियाँ सैनिकहरूले भारतीय सैनिकमाथि कुटपिट गरेका थिए।

अरुणाचल प्रदेशमा भारतीय र चिनियाँ सैनिकबीच भिडन्त भएको यो पहिलो पटक होइन। सन् २०२० को जुन महिनाको १५ तारिखमा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक झडप हुँदा २० भारतीय सैनिक मारिनुका साथै कैयौँ घाइते भएका थिए।

प्रकाशित मिति: : 2022-12-13 09:25:00

प्रतिकृया दिनुहोस्