भक्तपुरको सुवर्णेश्वर मन्दिर परिसरमा १०८ शिवलिंग र सप्तऋषि स्थापना गरिएको छ। सूर्यविनायक नगरपालिका-५ कटुञ्जेस्थित मन्दिरमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बुधबार यसको उद्घाटन गरे।
स्थानीय सूर्यविनायक नगरपालिका-५ कटुञ्जे निवासी मोडर्न स्कुल र कलेज दधिकोट र सृजनानगर भक्तपुरका संस्थापक बाबुकाजी कसपालले आफ्ना स्वर्गीय पूर्वज जिजुबुबा काजीमान कसपाल, स्वर्गीय हजुरबुबा रामलाल कसपाल, स्वर्गीय बुबा रत्नलाल कसपाल,स्वर्गीय मुमा च्यान्टीमाया कसपाल र दिवंगत भएका आफ्ना ज्ञातअज्ञात सम्पूर्ण पितृजनहरूको सम्झनामा शिवलिंग स्थापना गरिदिएका हुन्।
१०८ शिवलिंग, सप्तऋषिसहित यसको परिसर कार्यमा लाग्ने सम्पूर्ण आर्थिक व्ययभार बाबुकाजी कसपालले नै योगदान गरेको स्वर्गद्वारी सन्यास आश्रम सुवर्णेश्वर कटुञ्जेका अध्यक्ष मुकुन्दप्रसाद लुइँटेलले बताए। यसअघि १०८ शिवलिंग स्थापना गरी पूजन गर्ने कार्यका लागि २० मंसिरमा पूर्वाङ्ग यज्ञादी र बुधबार शिवलिंग प्राणप्रतिष्ठा रूद्री पूजन, लाखबत्ती प्रज्वलन गरी यसको उद्घाटन गरिएको हो।