दीपक मनाङेको 'अर्जुनदृष्टि' : दल चाहार्दै मन्त्रीको कुर्सी

‘कांग्रेस—एमाले’को सर्मथनमा दोस्रोपटक गण्डकी प्रदेशसभा सदस्य निर्विरोध निर्वाचित भएका ‘दीपक मनाङे’ अर्थात् राजीव गुरुङ सोमबार साँझ एकीकृत समाजवादीको दैलोमा पुगेका छन्।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हातबाट टीका थापेका उनी अब ‘स्वतन्त्र सांसद’ रहेनन्। सत्ता—स्वार्थका लागि ‘दलबल’ फेर्दै हिँडिरहेका प्रदेशसभा सदस्य मनाङे आफूलाई एकीकृत समाजवादीका अध्यक्ष नेपालजस्तै देख्छन्। माधवकुमार नेपाल र आफ्नो नीति, सिद्धान्त र विचार उस्तै—उस्तै भएको दाबी गर्छन्।

पार्टी प्रवेश गरेको दुई दिन नबित्दै सांसद मनाङेले आफूनिकट साथी—भाइलाई गण्डकी प्रदेशको शक्तिशाली मन्त्री र साढे दुई वर्षपछि मुख्यमन्त्रीको सपना बाँड्न थालेका छन्।

‘हेर केटा हो! सांसद पद भन्या यस्तै हो। यो खासै ठूलो कुरो पनि होइन। मन्त्री पनि यस्तै कुरा हो,’ उनले भने, ‘अब शक्तिशाली मन्त्री हुने हो, त्यसपछि झ्याम्मै मुख्यमन्त्री। साढे दुई वर्षपछि मुख्यमन्त्री हुन सकिन्छ। तर पार्टी र संगठन पनि बलियो बनाउनुपर्छ।’

गण्डकी प्रदेशमा सत्ता गठबन्धनको सरकार बन्दा एकीकृत समाजवादीले भागबन्डामा मन्त्री पद पाउँदा उनै मनाङे मन्त्रीको पहिलो सूचीमा हुनेछन्। ‘अब दीपकजी गण्डकी प्रदेशमा हाम्रो पार्टीको नेता—सांसद हो। उहाँको विगतलाई भुलेर पार्टीले राम्रो जिम्मेवारी दिन्छ,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने।

सांसद मनाङेलाई अन्य पार्टीका नेताहरू गण्डकी प्रदेशमा सत्ता राजनीतिको चतुर खेलाडी मान्छन्। उनी एमाले र सत्ता गठबन्धनलाई सहयोग गर्दा पटकपटक मन्त्री भइसकेका छन्। मनाङे भन्छन्, ‘अब म मुख्यमन्त्रीको बलियो दावेदार हुँ। हाम्रो पार्टी पनि सत्ता गठबन्धनमा छ। हेरौँ आगामी समिकरण कस्तो बन्छ।’

एकीकृत समाजवादी प्रवेश गरेलगतै उनले एउटा विज्ञप्ति सार्वजनिक गरेका छन्। उनी भन्छन्, ‘मेरो पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमका रहेका राजनीतिक दलहरूमध्ये नेकपा एकीकृत समाजवादी पार्टीको रहेको र त्यसमा रहेका नेता—कार्यकर्ताहरूको स्वच्च छवि मुलुकका लागि केही गरौँ भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेकपा एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्गनिर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु।’

प्रकाशित मिति: : 2022-12-06 10:20:00

प्रतिकृया दिनुहोस्