शून्यकाे मूल्य : कर्णालीका आमाहरुकाे सास, आश र संघर्ष

संयुक्त राष्ट्र संघकाे दिगाे विकासका १७ वटा लक्ष्यहरु आउनु भन्दा पहिला शून्य आउनुपर्छ। शून्य भनेकाे आमाहरु हुन्। आमाहरु बलिया नभइ यी लक्ष्यहरु प्राप्त गर्न सकिँदैन भन्ने निचोडमा लेखिएकाे डा. नवराज केसीकाे पुस्तक 'शून्यकाे मूल्य सास, साहस र स्नेहकाे कथा' बजारमा आएकाे छ।

शनिबार सुर्खेतमा एक भव्य समारोहबीच डा. नवराज केसीकी आमा टीका केसीकाे हातबाट सार्वजनिक भएपछि आम पाठकहरु समक्ष पुगेकाे पुस्तक प्रकाशन गृह सांग्रिला बुक्सले जनाएकाे छ।

पुस्तकमा कर्णालीका आमाहरुकाे सास, आश, संघर्ष र उनीहरुले घरेलु अर्थतन्त्रमाथि गरेकाे याेगदानलाई मालामा उनीएकाे कार्यक्रमका वक्ताहरूले बताएका छन्।

विशेषतः कर्णालीका आमाहरुकाे वास्तविकतालाई शब्दमा उतारिएकाे सिर्जनात्मक गैर आख्यान लेखकको पहिलो पुस्तक हो।

'दिगो विकासका १७ वटा लक्ष्यको पहिलो नम्बरभन्दा अगाडि आउनुपर्ने एउटा लक्ष्य त चटक्कै छुटेको रहेछ। एकभन्दा अघि शून्य हुन्छ। नेपालको कुनो कर्णालीमा उसले दिगो विकासको लक्ष्य एक, दुई, तीनभन्दा अगाडिको शून्य भेटेपछि लेख्ने काम सुरु भयाे,' लेखक डा. केसीले भने, 'शून्यको पनि मूल्य हुन्छ? नहुँदो हो त शून्य हुँदो नै किन हो? शून्य भनेको एकमा पुग्नु अगाडिको तयारी हो नि। फूल फुल्ने र फल फल्ने वृक्ष उम्रिने माटोमा हो। शून्य पनि अरु अङ्कका मान बढाउने त्यही माटो हो।'

उनका अनुसार कर्णालीमा बिरामी बच्चा बोक्ने आमाहरूको पूर्ण सकुशलतामा छुटेको शून्य हाे। संसारभरिका आमा २०३० सम्म शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक रुपले स्वस्थ मात्र भइदिए, एकदेखि १७ सम्मका अन्य दिगो विकासका लक्ष्य प्रकाशको गतिमा कुद्ने थिए। आ-आफ्नो पुग्नुपर्ने स्थानमा समयअगावै पुगिसक्थे कि?

डा. केसीले आफ्नाे पुस्तकमा अटाएका पात्र र तिनका कथा शून्यको मूल्य भन्ने कथा भएकाे बताए। विश्वविद्यालयका ज्ञान हासिल गरेर विद्यावारिधीकाे उपाधि प्राप्त गरेका भन्दा कयौं गुणा ज्ञानी जीवनवारिधी गरेका कर्णालीका आमाहरु भएकाे उनकाे निष्कर्ष छ।

'कर्णालीका मान्छेहरुका कथा यस्ता रहेछन् भन्ने कुरा दुनियाँसम्म पुगोस् भन्ने उद्देश्यसहित याे पुस्तक लेखिएको हाे,' रचना गर्भ सुनाउँदै डा. केसीले भने, 'कर्णाली आफैँमा विश्वविद्यालय हो। यहाँको जीवन संघर्ष र सिकाई नै सबैभन्दा ठुलो डिग्री हो। अर्थात जीवनवारिधी हाे।'

पुस्तक सार्वजनिक कार्यक्रममा सहभागी लेखक तथा अभियान्त राधा पौडेलले 'शून्यको मुल्य' ले अन्धकार समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देश प्रवाह गरेको बताइन्।

'चार सय वर्षदेखि पैतालाको धुलो सरी राज्य र खबरदारी गर्ने नागरिक समाजले बेनाम बनाएको, अस्तित्वहीन बनाएको, जुर्मुराउन नदिएको, धर्म, संस्कृति, संस्कार, चलन, प्रथा, दासत्वका नाममा गाँजेर रहेको महिलामाथिको शोषणविरुद्धका लागि 'शून्यको मुल्य’ १० रेक्टरको भूकम्पको कम्पन जस्तै भएको छ,' उनले भनिन्।

पुस्तक देशका प्रधानमन्त्रीदेखि मन्त्रीहरुको हातमा हुनुपर्ने, राज्यका प्रमुख निकायमा रहेका व्यक्ति, राजनीतिज्ञहरुसँग हुनुपर्ने पुस्तककी सम्पादक तथा लेखक आन्विका गिरीले बताइन्।

'अब सबैले थाहा पाउनुहुनेछ, कर्णालीमा अझै यस्तो पनि हुने रहेछ भनेर। यो पुस्तक आफैँमा एउटा अभियान हो,' उनले भनिन्, 'देशकाे स्वास्थ नीति बनउने र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनेहरुले याे किताब पढुन्।'

पुस्तक सार्वजनिक कार्यक्रममा काेपिला भ्यालीकी सहसंस्थापक एवं सीएनएन हिराे तथा लेखक म्यागी डोयनले पुस्तक सबै आमाहरु, फूपुहरु र उहाँहरु सबैको प्रतिनिधि कथा भएकाे बताइन्।

प्रकाशित मिति: : 2022-12-04 21:30:00

प्रतिकृया दिनुहोस्