कैलाली क्षेत्र–५ (२) मा कांग्रेसका देउवा विजयी

File Photo
File Photo

कैलाली निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नौ हजार पाँच सय ९१ मत प्राप्त गरी देउवा प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का दुर्गाप्रसाद जोशीले छ हजार तीन सय ५१ मत प्राप्त गरे। विजयी देउवा प्रधानमन्त्री शेरबहादुर देउवा भतिजा हुन्।

 प्रदेशसभामा खसेको २८ हजार चार सय ८३ मतमा एक हजार दुई सय ६९ मत बदर भएको छ। क्षेत्र नं ५ को प्रदेशसभा (१) मा भने मतगणना जारी छ।

पछिल्लो मतपरिणामअनुसार एमालेका नेपालु चौधरीले सात हजार चार सय २३ मत पाउँदा नेकपा (माओवादी केन्द्र)का रमेश धामीले सात हजार दुई सय ३४ मत प्राप्त गर्नुभएको छ। तेस्रो स्थानमा नागरिक उन्मुक्ति पार्टीका श्रीराम चौधरीले चार हजार दुई सय ४९ मत पाएका छन्।

आज बिहानसम्म क्षेत्र नं ५ को प्रदेशसभा (१) मा २७ हजार चार सय मतगणना भइसकेको छ। निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो परिणामअनुसार कांग्रेसका डिल्लीराज पन्तको अग्रता कायमै छ।

बिहानसम्म जम्मा ५५ हजार आठ सय ५३ मतगणना भइसक्दा पन्तले १८ हजार पाँच सय २९ मत पाउनुभएको छ। एमालेका नारदमुनी राना थारूले १७ हजार छ सय सात मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा सात हजार छ सय ६३ मतसहित तेस्रो स्थानमा छन्। यो क्षेत्रमा अब झण्डै पाँच हजार मत गन्न बाँकी छ।

प्रकाशित मिति: : 2022-11-25 08:58:00

प्रतिकृया दिनुहोस्