मोरङ–३ मा कांग्रेस, रेखा तेस्राेमा

मोरङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सुनिल शर्माले अग्रता लिएका छन्।

पछिल्लो जानकारीअनुसार तीन हजार पाँच सय ६१ मत गणना हुँदा शर्माले एक हजार आठ सय ९२ मत प्राप्त गरेका छन्। 

त्यसैगरी नेकपा (एमाले)का भानुभक्त ढकालले नौ सय ७६ मत प्राप्त गरेका छन्। त्यस्तै राप्रपाकी उम्मेदवार रेखा थापाले तीन सय ८८ मत प्राप्त गरेकी छिन्। थापा पछिल्लो मतपरिणामअनुसार तेस्रो स्थानमा रहेका छन्। यो क्षेत्रमा २०७४ सालमा पनि कांग्रेसका  शर्मा र एमालेका ढकालबीच नै प्रतिस्पर्धा भएको थियो। जसमा  ढकाल निर्वाचित भएका थिए। 

मोरङ क्षेत्र नं ३ मा ६५ दशमलव ८ प्रतिशत मत खसेको थियो। यो निर्वाचन क्षेत्रमा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेका छन्। यहाँ  ९७ हजार पाँच सय एक मत खसेको छ। 

मोरङ क्षेत्र नं ३ मा  सोमबार दिउँसोदेखि समानुपातिकतर्फबाट  मतगणना सुरु भएको हो। यस क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनका  शर्मा, एमालेका  ढकाल, राप्रपाबाट  थापाबीच मुख्य प्रतिस्पर्धा रहेको छ। मोरङ क्षेत्र नं ३ को मतगणना अहिले बेलबारीको भगवती माविमा जारी छ।

मोरङ–२ मा अग्रता बढाउँदै एमाले 
    
मोरङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलको अग्रता रहेको छ। नेपाली कांग्रेस नेत्री सुजाता कोइरालालाई  पछि पार्दै पोखरेल अगाडि रहेका हुन्। दुई हजार आठ सय १८ मतगणना हुँदा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले एक हजार चार सय सात मत प्राप्त गरेका छन्। 

कोइरालाले नौ सय ८३ मत प्राप्त गरेका छन्। पोखरेल र कोइरालाको मतान्तर चार सय २४ रहेको छ। मोरङ क्षेत्र नं २ मा ६४ दशमलव २४ प्रतिशत मत खसेको थियो। उक्त निर्वाचन क्षेत्रमा एक लाख २४ हजार सात सय २९ मतदातामध्ये ८० हजार एक सय २७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यस निर्वाचन क्षेत्रमा पोखरेल र कोइरालाबीच मुख्य प्रतिस्पर्धा रहेको छ। मोरङ क्षेत्र नं २ को मतगणना अहिले विश्वनाथ मन्दिर रतुवामाईमा जारी रहेको छ।

प्रकाशित मिति: : 2022-11-22 12:54:00

प्रतिकृया दिनुहोस्