बागलुङमा मतगणनाका लागि दुई स्थानमा सुरक्षित तरिकाले मतगणनास्थल तयार पारिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको कार्यालय बागलुङ बजार र निर्वाचन अधिकृतको कार्यालयले बुर्तिबाङ नयाँ सहरी आयोजनाको कार्यालयमा मतगणनास्थल तयार पारेको छ।
जिल्लामा दुई स्थानमा मतगणनाका लागि सिसी क्यामेरा जडानसँगै तारजालीको समेत व्यवस्थापन गरिएको छ। मतगणना स्थलमा सुरक्षा चुनौतीलाई मध्यनजर गरेर तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए।
उनका अनुसार मतपेटिका राख्ने कोठा र मतगणना गर्ने कोठामा सिसी टिभी क्यामेरा जडान गरिएको छ भने गणनास्थलमा तारजालीको व्यवस्था मिलाइएको छ।
यस्तै मतगणनास्थलमा दलका उम्मेदवार र प्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर मिलाइएको छ। मतगणनास्थलको सुरक्षासँगै हुन सक्ने सम्भावित घटनाबाट बच्न तारजाली र सिसी टिभी क्यामेराबाट निगरानी गर्नुपरेको मुख्य निर्वाचन अधिकृत भट्टले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाका लागि जिल्ला समन्वय समितिको सभाहलमा तीन स्थानमा र निर्वाचन अधिकृतको कार्यालयले बुर्तिबाङ नयाँ सहरी आयोजनाको कार्यालयमा दुई स्थानमा मतगणना गर्ने जनाएकाे छ।
मुख्य निर्वाचन अधिकृत भट्टका अनुसार मत परिणाम छिटो सार्वजनिक गर्नका लागि क्षेत्र नं १ को तीन स्थान र क्षेत्र नं २ को दुई स्थानमा मतगणना गर्ने व्यवस्था गरिएको हो।
भट्टले क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र समानुपातिकतर्फको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गरिने बताए। उहाँले सभाहलभित्र तीन स्थानमा मतगणना गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए।
मतगणना स्थानमा प्रत्येक टोलीमा एकजना निर्वाचन अधिकृत, दुईजना गणक र एकजना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ। मतगणनास्थलको सुरक्षाका लागि १० जनाको नेपाल प्रहरीको टोली र त्यसबाहिर सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सुरक्षा गर्नेछ।
यस्तै निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले बुर्तिबाङ नयाँ सहरी आयोजनाको सभाहल क्षेत्र नं २ तर्फको मतगणना गर्ने व्यवस्था मिलाइएको जानकारी दिए। उनका अनुसार मतगणनास्थल रहेको सभाहलमा दुई स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ। दुवै स्थानमा मतगणनाका लागि तयारी सम्पन्न भएको बताइएको छ।
जिल्लामा दुई निर्वाचन क्षेत्रमा एक लाख ९२ हजार दुई सय २७ मतदाता रहेका छन्। दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यका लागि ३१ जना चुनावी मैदानमा रहेका छन्।